भारतको बाराबंकीमा मजदुर बोकेको बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु

भारतको उत्तरप्रदेश राज्य अन्तरगत लखनउ नजिक रहेको बाराबंकीमा बस दुर्घटना हुँदा चारजना नेपालीको मृत्यु भएको छ । यस्तै ६ जना गंभिर घाईते भएका छन् ।

जसमा मजदूरीका लागि भारत जाँदै गरेका बाँकेको राप्ती सोनारी गाउँपालिका– ५ बिनौना गाउँका दुई युवाको मृत्यु भएको छ ।

सीमावर्ती भारतीय सहर रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको युपी ९३ बि टि ९९४४ नम्बरको यात्रु बाहक बस शनिबार बिहान भारतको बाराबंकीमा दुर्घटना हुँदा राप्ती सोनारी– ५ बिनौना गाउँका २५ वर्षीय प्रेम थारु, २४ वर्षीय शीतल थारु, दाङ तुलसीपुर उपमहानगरपालिका निवासी ४५ वर्षीय चक्रबहादुर ओलीसहित चार नेपालीको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु भएका राप्ती सोनारी–५ बिनौना निवासी प्रेम र शीतल फूपु र मामाका छोरा नाता पर्ने दुई भाइ हुन् । एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि सिङ्गो बिनौना गाउँ शोकमग्न भएको वडाध्यक्ष झगरु थारुले बताए ।

‘गाउँ शोकमग्न छ, हामी सबै जम्मा भएका छौँ”, वडाध्यक्ष थारुले भने, ‘शोकमग्न आफन्तजन तथा गाउँवासी दाहसंस्कारका लागि आइपुग्नुभएको छ ।’ प्रेम र शीतल यसअघि पटक–पटक मजदूरीका लागि भारत जाने आउने गर्ने गरेका थिए । मृतक प्रेमका दुई बच्चा रहेका छन् भने शीतल अविवाहित थिए । एउटै दुर्घटनामा बिनौनाका दुई जना मृतक र केही घाइते भएपछि बिनौनावासी शोकमग्न भएको वडाध्यक्ष थारुले बताए।

मृतकको शव भारतीय प्रहरीसँगको समन्वयमा आज बिहान २ बजे नेपाल ल्याइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए । उनका अनुसार मृतक चार जना नेपालीमध्ये एक जनाको अझै पहिचान हुन सकेको छैन । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरुको लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर