आमनिर्वाचनअघि हुँदैछ चार एआईजी पद रिक्त, बढुवामा नयाँभन्दा पुरानाकै रुचि

नेपाल प्रहरीमा निर्वाचनअघिसम्म विभिन्न समयमा गरेर चार वटा अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त हुँदैछ । अहिले एउटा पद रिक्त छ भने बुधबार मध्यरातिदेखि अर्को पदसमेत रिक्त हुँदैछ । यस्तै कात्तिक २५ सम्म थप दुई पद रिक्त हुनेछ ।

प्रहरीमा अन्य समयमा भएको भए यतिबेला एआईजी विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएपछि नै सो रिक्त पदका लागि दौडधुप र चलखेल उत्कर्षमा पुग्ने थियो । तर, निर्वाचनको मुखमा बढुवाका प्रत्यासीहरू चुपचाप छन् । निर्वाचनको परिणाम र अगामी सरकारको अन्यौलताकाबीच यतिबेला भावी महानिरीक्षकको दौडमा रहेका डीआईजीहरू शान्त बसेका छन् ।

प्रहरी उच्च अधिकारीका अनुसार विश्वराज पोखरेलपछि २२ भदौको मध्यरातिबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख रहेका मुकुुन्दकुमार आचार्यले एआईजीको ५६ वर्षीय उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् । यसपछि १५ कात्तिकमा अरुणकुमार बीसी र २५ कात्तिकबाट रवीन्द्रबहादुर धानुुक अनिवार्य अवकाशमा जानेछन् ।

बीसी प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभाग प्रमुख र धानुुक उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख रहेका छन् । यो ब्याचबाट अन्तिममा ४ फागुुनमा मानवस्रोत विभाग प्रमुख रहेकी एआईजी पूजा सिंहले अवकाश पाउनेछन् भने अन्य सबै प्रहरीमा उमेर हद, सेवा अवधि र कार्यकालको विषयमा केही उथलपुथल नभए १० चैत्रको मध्यरातबाट महानिरीक्षक धीरजप्रताप सिहसँगै सेवा हदका कारण अनिवार्य अवकाशमा जानेछन् ।

यतिबेला गृहमन्त्री बालकृष्ण खाण र बालुवाटार निर्वाचनको मुखमा निर्वाचन आयोगको सहमति लिएर रिक्त पदमा बढुवाको पक्षमा रहेका छन् । उच्च सरकारी अधिकारीहरूका अनुसार २२ असोजमा नयाँ कार्यसम्पादन मूल्यांकनअनुसार पर्खेर बढुवा गर्ने कि रिक्त हुने दुई पदमा तत्काल पुरानै कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । यो विषय सम्भवतः महानिरीक्षक सिंह विदेशबाट फर्केपछि निक्र्यौल हुनेछ ।

यस्तै महानिरीक्षकको दौडमा रहेका वसन्तबहादुुर कुँवर, दीपक थापा, मीरा चौधरी, टेकप्रसाद राई, अशोक सिंह र श्याम ज्ञवालीमध्ये कुनै दुईको अहिले बढुवा गर्ने वा महानिरीक्षक सिंहकै ब्याचबाट बाँकी रहेका डीआईजीत्रय नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँलाई बढुवा गर्ने भन्ने विषयसमेत छलफलमा रहेको छ ।

प्रहरी प्रधान कार्यालयस्थित एक उच्च अधिकारीका अनुसार यतिबेला भावी महानिरीक्षकको दौडमा रहेका अधिकृतहरू अधिकांश यो बढुवामा रुचिकर देखिएका छैनन् । निर्वाचनको परिणामपछि हुने बढुवा उनीहरूको रोजाइमा रहेको छ ।

‘यसपटक चिफ सा’पकै ब्याचका तीन जनाको बढुवा गरेर निर्वाचन गराउने त्यसपछि मात्र नयाँ ब्याचको बढुवा हुने सम्भावना बढी छ,’ ती अधिकारीले पर्दाफाससँग भने, ‘अहिले बढुवा भएमा भोलि ‘विश्वराज’ हुनसक्ने त्रास नयाँ ब्याचका अधिकारीमा देखियो।’

ती अधिकारीका अनुसार गृह र बालुुवाटार रिझाएर प्रदेश प्रमुखको जिम्मेवारी पाएका तीनै जना अहिलेको सरकार निकट रहेका छन् । उनीहरूको जोडबलसमेत बढुवामा भएकाले सम्भावना बढिरहेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर