शिक्षामन्त्री पौडेल बागलुङका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।

बागलुङमा दुई सङ्घीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा निर्वाचनका लागि उनी जिल्लाको दुईवटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका हुन् । मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पौडेलको स्थायी घर बागलुङ क्षेत्र नम्बर १ मा पर्दछ ।

नेकपा (माओवादी केन्द्र) बागलुङका अनुसार बागलुङ क्षेत्र नम्बर १ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम प्रतिनिधि सभाका लागि सिफारिस गरिएको माओवादी केन्द्र बागलुङका जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिए ।

उनका अनुसार बागलुङ क्षेत्र नम्बर २ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाको नामसमेत सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्रका हिसाबले क्षेत्र नम्बर २ ले र भूगोलका हिसाबले क्षेत्र नम्बर १ ले सिफारिस गरेको हो । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का लागि दुई जनाको नाम सिफारिस गरिएको छ ।

उक्त प्रदेश सभा सदस्यका लागि यज्ञवल्लभ शर्मा र चक्रपाणी कंडेले सिफारिस भएका छन् ।  यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा कुलचन्द्र शर्माको नाम सिफारिस गरी पठाइएको जिल्ला इन्चार्ज शर्माले बताए ।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा क र ख का लागि उम्मेदवारहरूको नाम सिफारिसका लागि छलफल भइरहेको माओवादी केन्द्र बागलुङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *