बागलुङ निसीखोला हत्याकाण्डको सफल अनुसन्धान गर्ने दुई प्रहरी अधिकृत पुरस्कृत

बागलङको निसीखोलामा श्रीमतीले श्रीमानको हत्या गरेको घटनाको सफल अनुसन्धान गर्ने दुई प्रहरी अधिकृत पुरस्कृत भएका छन्।

गत साउन २५ गते निसीखोलमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको थियो। प्रहरीले सो घटनामा झण्डै दुई हप्ताको लामो अनुसन्धानपछि हत्या गरिएका व्यक्तिको सनाखत र हत्यामा संलग्नहरूको पहिचान गरी पक्राउ गर्न सफल भएको थियो। जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय बागलुङ दरबन्दी भएका प्रहरी निरीक्षक भूपेन्द्र गिरी र इलाका प्रहरी कार्यालय गलकोट दरबन्दी भएका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा (रेग्मी)लाई नगद १२ हजार रुपैयाँका दरले पुरस्कृत गरेको हो।

प्रहरी निरीक्षकद्वयले आफूलाई दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई अत्यन्त इमानदारी, बफादारी तथा व्यावसायिक सुझबुझका साथ कर्तव्यनिष्ठ भई प्रशंसनीय ढंगले उत्कृष्ट कार्यसम्पादन गरेको हुनाले पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी निरीक्षकद्वयको व्यहोरा किताबमा जनाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङले राष्ट्रिय किताबखानालाई पत्रसमेत पठाएको छ।

यस्तो थियो घटना

बागलुङको निसिखोलामा साउन २५ गते एक पुरुषको शव टाउको काटिएको अवस्थामा फेला पर्‍याे। इलाका प्रहरी कार्यालय झिवाखोलाले यसबारे जिल्ला प्रहरी कार्यालय बागलुङलाई सूचना दिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसहितको टोली घटनास्थल पुग्यो। अनुसन्धानका क्रममा मृतकको दाहिने हातमा भएको ट्याटुको आधारमा उनी बागलुङको निसीखोला गाउँपालिका वडा नं. ५ बस्ने २४ वर्षीय फुर्से भन्ने तुलबहादुर कामी रहेको खुल्यो। प्रहरीले उनकी श्रीमती कुमारी कामीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले श्रीमानको हत्या गरेको स्वीकार गरिन्।

प्रहरीका अनुसार कुमारीलेले साउन २५ गते राति १० बजे तुलाबहादुरको घन र चिर्पटले हानी हत्या गरेको र टाउको काटेर निसीखोलामा शव फालेको स्वीकार गरेकी छन्। राति तुलबहादुरसँग शारीरिक सम्बन्ध राख्दा उनले परस्त्रीको नाम लिएर कराउन थालेपछि कोठा नजिकै रहेको फलामको घन र चिरपट दाउराले टाउकोमा हिर्काएर बेहोस बनाएको र खुकुरीले आधा टाउको काटेको बयान कुमारीले प्रहरीसमक्ष दिएकी छन्।

आधा टाउको सोही कोठामै काटी डोकोमा राखेर नजिकै रहेको खोलामा लगेको र बाँकी टाउको शरीरबाट छुट्याई खोलामै मृत शव, टाउको, बोक्न प्रयोग गरीएको डोको र चिरपट दाउरो बगाएको उनले बताएकी छन्।

कुमारीले आफ्नी बहिनी मनिषा विकलाई सो घटनाको बारेमा बताएको तर मनिषाले उक्त घटनाको सूचना नदिएको र घटना ढाकछोप गरेकोले उनको समेतसंलग्नताको आशंकामा प्रहरीले उनलाई पनि भदौ ४ गते घरबाटै पक्राउ गरेको थियो।

दुवैमाथि अदलातबाट म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *