स्थानीय निर्वाचन मत परिणामले यस्तो देखाउँछ कांग्रेसका यी प्रमुख २३ नेताको ‘आमनिर्वाचन भविष्य’

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सत्तारुढ गठबन्धको सीट बाँडफाँट टुङ्गिएको छैन । गठबन्धनभित्रको सबैभन्दा ठूलो दलको पदाधिकारीसहित २५ नेताहरुको सीट भने सुनिश्चित रहेको छ।

उनीहरुले प्रत्यक्षबाट दावी गरेपनि त्यस क्षेत्रमा नाइनास्ती गर्ने संभावना अन्यको छैन । यो सूचीमा सभापति शेरबहादुर देउवासहित १३ पदाधिकारीसहितका नेताहरु रहेका छन् ।

पार्टीको टिकट वितरण गर्ने संसदीय समितिमा सदस्य रहने दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीले प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहे उनीहरूलाई कसैले रोक्न सक्ने अवस्था कांग्रेसमा छैन।

नेता रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला, गोपालमान श्रेष्ठलाई प्रत्यक्षतर्फका उम्मेदवार बन्न कसैले छेक्न सक्दैनन्। त्यस्तै प्रवक्ता प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेताद्वय एनपी साउद र रमेश लेखकका साथै देउवा पत्नी आरजु राणाको पनि टिकट निश्चित छ। यी २५ नेता प्रत्यक्षतर्फ उम्मेदवार बन्न खोज्दा १६५ मध्ये जुनसुकै क्षेत्रमा पनि पार्टीबाट टिकट लिएर जान सक्ने हैसियत राख्छन्।

पार्टीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट निश्चित रहेको छ । उनीहरुको चुनाव क्षेत्रको अवस्था कस्तो छ ?

शेरबहादुर देउवा

२०७४ सालमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेलका बीच ६ हजार ९२९ मतान्तरले जित निकालेका सभापति देउवाका लागि आगामी निर्वाचन तुलनात्मक रूपमा सहज हुने विश्लेषण गरिएको छ।

त्यति मात्र नभएर माओवादीसहितका दलहरूसँग चुनावी तालमेलले देउवालाई थप सहज हुने कांग्रेस नेताहरूको बुझाइ छ। तर उनीविरुद्ध डडेलधुराका पार्टी पूर्वसभापति कर्ण मल्ल मैदानमा उत्रिने तयारीमा छन्।

मल्ललाई एमालेसहितका राजनीतिक दलको सहयोग रहने बताइएको छ। वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने डडेलधुरामा कांग्रेसले २१ हजार ७ सय ३५, माओवादीले १२ हजार ८७८, एमालेले १० हजार ४४९, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले ५ हजार ४१, राप्रपाले ७१४, जनता समाजवादी पार्टी (जसपा) ले १५६ पाएका छन्।

रामचन्द्र पौडेल

पार्टी नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा तनहुँ–१ बाट अन्तिम पटक जित्न चाहेको बताएका छन् । केन्द्रीय सदस्य शंकर भण्डारीले पनि सोही क्षेत्रबाट दाबी गर्दै आएका छन्।

२०७४ सालको निर्वाचनमा एमाले (हाल नेकपा एस) का कृष्णकुमार श्रेष्ठ (किसान) सँग पौडेल ६ हजार ४१४ मतान्तरले पराजित भएका थिए।

स्थानीय तहको निर्वाचनमा त्यस क्षेत्रबाट कांग्रेसले ३३ हजार १०६, एमालेले २२ हजार २१०, माओवादीले ८ हजार ४७४, राप्रपाले १ हजार ७७५, नेकपा एसले ८९२ र जसपाले ५४ मत पाएका थिए।

पूर्णबहादुर खड्का

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का आगामी निर्वाचनमा सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यासी बन्नेछन्। २०७४ साल चुनावमा एमाले उम्मेदवार ध्रुवकुमार शाहीले ३६ हजार ७५९ मत पाउँदा खड्का ३३ हजार ३७७ मतमा सीमित बनेका थिए।

स्थानीय तह निर्वाचन परिणामले खड्कालाई केही उत्साहित बनाएको छ तर पार्टीभित्र हृदयराम थानीसँगको उनको दूरी बढेको छ ।

स्थानीय चुनावमा सुर्खेत–१ मा कांग्रेसलाई ३६ हजार ९२८, एमालेलाई ३४ हजार ८४३, माओवादीलाई ५ हजार ७५, राप्रपालाई ६६४, नेकपा एसलाई ६३४ मत प्राप्त गरेका थिए ।

धनराज गुरुङ

उपसभापति धनराज गुरुङको गृहजिल्ला स्याङ्जा हो। पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र उपसभापति गुरुङको एउटै निर्वाचन क्षेत्र स्याङ्जा–२ हो। अहिलेसम्म प्रत्यक्ष निर्वाचनको सामना नगरेका गुरुङलाई पूर्वउपसभापतिसमेत रहेका श्रेष्ठले सो क्षेत्र छाड्ने देखिँदैन।
अघिल्लो निर्वाचनमा एमालेकी पद्मा अर्यालसँग ३ हजार ७०६ मतान्तरले पराजित श्रेष्ठ मैदान उत्रिए गुरुङले स्याङ्जाको अर्को क्षेत्र वा अर्को जिल्ला जानुपर्ने हुन्छ।

गुरुङ र श्रेष्ठमध्ये एकजना समानुपातिक र अर्को प्रत्यक्षतर्फ उम्मेदवार बन्ने सम्भावना पनि छ।

स्थानीय चुनावमा स्याङ्जा–२ मा कांग्रेसले ३६ हजार ८०६, एमालेले ३४ हजार ८०९, माओवादीले १ हजार २४३, राप्रपाले ५११, नेकपा एसले २३३ मत पाएका थिए।

यद्यपी गुरुङ र श्रेष्ठ मुख्य दाबी स्याङ्जा – १ मा रहेको छ। उनीहरु दुवै जना स्याङ्जा क्षेत्र न १ र २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।

गगनकुमार थापा र विश्वप्रकाश शर्मा

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रमशः काठमाडौं–४ र झापा–१ बाट उम्मेदवार बन्दैछन्। थापा काठमाडौंबाट चौथो कार्यकालका लागि जनप्रतिनिधिमा अनुमोदन हुने प्रयासमा छन्।

पार्टी महामन्त्रीको जिम्मेवारीमा पुगेका थापालाई देशभरिका नेता तथा कार्यकर्ताले भावी प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा हेरिरहेका छन्।

काठमाडौं–४ बाहेकबाट पनि नाम सिफारिसमा परेका थापाले २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईलाई ३ हजारभन्दा बढी मतले पछि पारेका थिए।

थापा २०७० सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने पहिलो संविधानसभामा समानुपातिकबाट सदस्य बनेका थिए।

स्थानीय तहको मतपरिणामलाई हेर्ने हो भने काठमाडौं–४ मा एमाले १६ हजार ५०७, कांग्रेस १५ हजार ७६३, नेकपा एस २ हजार ४१४, राप्रपा २ हजार २९३, माओवादी ८४४, जसपा ३१७ मत प्राप्त गरेका थिए ।

महामन्त्री शर्माको झापा–१ मा माओवादीले पनि दाबी गर्दै आएको छ। एमालेले राप्रपासँग चुनावी तालमेल गर्दा त्यसको सबैभन्दा बढी असर झापामा पर्नेछ। त्यहाँ राप्रपाको जबरजस्त मत देखिन्छ।

त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धनभन्दा विपक्षी गठबन्धन बलियो हुन सक्ने आकलन छ। २०७४ सालको निर्वाचनमा माओवादीका राम कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्मा भने ३३ हजार ३१० मतमा समेटिएका थिए।

माओवादीले पनि सोही क्षेत्रको दाबी नछाडे शर्माले अर्को क्षेत्र खोज्नुपर्ने वा समानुपातिक रोज्नुपर्ने हुन सक्छ।

स्थानीय तहको निर्वाचनमा झापा–१ मा एमालले ३१ हजार २३२, कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५, नेकपा एसले १ हजार २५२, लोसपा १६२ मत पाएका थिए।

कृष्णप्रसाद सिटौला

झापा गृह जिल्ला भएका पूर्वमहामन्त्री सिटौलाले पनि प्रत्यक्षतर्फको टिकट निश्चित छ। २०७४ सालको निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित सिटौलाको अवस्था अहिले पनि पहिलाभन्दा फरक छैन।

एमालेले पनि लिङ्देनलाई नै समर्थन गर्दा सिटौला अझ अप्ठेरोमा पर्नेछन्। पाँच दलीय सत्ता गठबन्धनमा रहेका राजनीतिक दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँट समिति संयोजक सिटौला झापा–३ बाट उम्मेदवार सिफारिस भएका छन्।

झापा–३ मा स्थानीय तह निर्वाचनमा कांग्रेसलाई २५ हजार ९४९, राप्रपालाई २१ हजार १५९, एमालेलाई २१ हजार ८५, माओवादीलाई ६ हजार ६८८, जसपा ५३७, लोसपा २०८ मतपाएका छन्।

प्रकाशमान सिंह

पूर्वमहामन्त्री प्रकाशमान सिंहको पनि काठमाडौं–१ मा सिट सुरक्षित छ। स्थानीय चुनावको मतलाई आधार बनाउने हो भने काठमाडौं–१ मा कांग्रेसले ९ हजार ८९५, एमालेले ९ हजार ५४१, राप्रपाले १ हजार ३७६, माओवादीले १ हजार १५९ मत पाएका छन्।

शंशाक कोइराला

पूर्वमहामन्त्री शशांक कोइराला नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ बाट चौथोपटक प्रतिस्पर्धाको तयारीमा छन्। स्थानीय चुनावमा त्यहाँ कांग्रेसले ४० हजार ५११, एमालेले ३९ हजार ९५१, राप्रपाले २ हजार ३७३, माओवादीले १ हजार ९२१ र जसपाले १८८ मत पाएका छन्।

शेखर कोइराला

कांग्रेस नेता शेखर कोइरालाको पनि मोरङ–६ बाट उम्मेदवार बन्ने निश्चित छ। अघिल्लो निर्वाचनमा एमालेका लालबाबु पण्डितले ६७५ मतले शेखरलाई पछि पारेका थिए। स्थानीय चुनावमा मोरङ–६ मा कांग्रेसले २७ हजार ८६, एमालेले २४ हजार ५५६, माओवादीले ४ हजार ९९६,

जसपाले ३ हजार ९३९, राप्रपाले ३ हजार ११५, नेकपा एसले २ हजार ३५५, लोसपाले ८९५ मत पाएका थिए।

महालक्ष्मी उपाध्याय डिना

महालक्ष्मी उपाध्याय डिना मकवानपुर–२ बाट आगामी निर्वाचनमा प्रतिस्पर्धामा उत्रिने तयारीमा छिन्। अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट उम्मेदवार रहेका विरोध खतिवडासँग १२ हजारभन्दा बढी मतले उपाध्याय पराजित भएकी थिइन्। अहिले उनै विरोधलाई उक्त निर्वाचन क्षेत्र छाड्नुपर्ने अवस्थामा महालक्ष्मीले अर्को निर्वाचन क्षेत्र खोज्नुपर्ने वा समानुपातिकमा बस्नुपर्ने अवस्था आउँछ।

मकवानपुर–२ मा एमाले ३६ हजार ८६६, कांग्रेस ३४ हजार २४०, माओवादी २२ हजार ६०७, नेकपा एस २ हजार ७१९, राप्रपा १ हजार ५३६ मत पाउन सफल भएका थिए।

बद्री पाण्डे

बाजुरा गृह जिल्ला भएका अर्का सहमहामन्त्री बद्री पाण्डेले अहिलेसम्म प्रत्यक्ष निर्वाचनको अनुभव लिएका छैनन्। स्थानीय निर्वाचनको परिणाम हेर्दा त्यहाँ एमालेभन्दा कांग्रेस केही हजार मतले पछि छ। बाजुरामा एमालेले २७ हजार ८४४, कांग्रेसले २४ हजार ३०४, माओवादीले ४ हजार २२९, नेकपा एसले १ हजार ६८९, राप्रपाले १७२ मत पाएका थिए।

भीष्मराज आङ्देम्बे

सहमहामन्त्री भीष्मराज आङ्देम्बेको गृह जिल्ला पाँचथरको अवस्था पनि उस्तै छ। अघिल्लो निर्वाचनमा वसन्त नेम्वाङसँग १० हजार ६१६ बढी मतले पराजित आङदेम्बे जिल्लामा स्थानीय तहको निर्वाचन परिणाम पनि सन्तोषजनक छैन। पाँचथरमा एमाले ३० हजार ९५८, कांग्रेस २५ हजार ६५, माओवादी ११ हजार ८०८, जसपा २ हजार ६४३, नेकपा एस २ हजार १६१, राप्रपा १ हजार ९०९ मत मत प्राप्त गर्न सफल भएका थिए।

जीवन परियार

कास्की–२ बाट निर्वाचन उठ्ने सहमहामन्त्री जीवन परियारको तयारी रहेको छ । परियारको उक्त क्षेत्रमा एमालेको राम्रो पकड रहेको मानिन्छ। स्थानीय चुनावमा कास्की–२ बाट एमालेले २१ हजार १६४, कांग्रेसले १९ हजार ८, राप्रपाले २ हजार ७९, नेकपा एसले २०५३, माओवादीले १ हजार १९८ र जसपाले १५३ मत पाएका थिए।

महेन्द्र यादव

धनुषाका महेन्द्र यादव क्षेत्र नम्बर ४ मा दावी रहेकाे छ । सो क्षेत्रबाट पूर्वराष्ट्रपति रामवरण यादवका छोरा तथा केन्द्रीय सदस्य चन्द्रमोहन यादवले पनि सोही क्षेत्रमा प्रतिस्पर्धा गर्दै आएका छन्।

धनुषा–४ मा कांग्रेस २५ हजार १९५, एमाले २३ हजार ६३०, जसपा ८ हजार ३७८, नेकपा एस ८ हजार १६४, माओवादी ४ हजार ४३४, लोसपा २ हजार १८४, जनमत पार्टी १ हजार ९५०, राप्रपा ५१४ मत स्थानीय निकायमा आएको थियो ।

उमाकान्त चौधरी

सहमहामन्त्रीको जिम्मेवारीमा पुगेका उमाकान्त चौधरी बाराका हुन्। चौधरी बारा–१ बाट निर्वाचित सांसद हुन्। आगामी निर्वाचनमा सोही क्षेत्रबाट उनले प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् ।

स्थानीय चुनावमा बारा–१ मा कांग्रेसले ३२ हजार ३५६, एमालेले २५ हजार ८०८, लोसपाले ९ हजार ५०५, माओवादीले ६ हजार ३४३, जसपाले ६ हजार १४३, राप्रपाले १ हजार ९७३, नेकपा एसले १ हजार ९४० रहेको छ ।

फर्मुला मन्सुर

बारा–३ लाई फर्मुला मन्सुरले निर्वाचन क्षेत्र बनाउँदै आएका छन्। बारा–३ मा एमालेले २३ हजार ६५४, कांग्रेसले १७ हजार ५५४, जसपाले ११ हजार २७९, माओवादीले ८ हजार २४८, नेकपा एसले ३ हजार ३९५, लोसपाले २ हजार २०६, राप्रपाले ८३८ मत पाएका थिए।

प्रकाशशरण महत

पार्टी प्रवक्ता तथा पूर्वसहमहामन्त्री प्रकाशसरण महतको पनि टिकट पक्का छ। तर महत नुवाकोट वा काठमाडौं कहाँबाट उम्मेदवार हुने निश्चित छैन। २०७४ सालको निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवार भएका महतलाई एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेलले ९ हजार ८६० मतले हराएका थिए।

स्थानीय चुनावमा त्यहाँबाट एमाले १९ हजार ७०३, कांग्रेस १४ हजार ८५३, राप्रपा २ हजार ८२२, नेकपा एस १ हजार ८२७, माओवादी १ हजार १६८, जसपा ५८ मत पाएका थिए।

बालकृष्ण खाण

सरकारका गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणले अघिल्लो निर्वाचनमा समानुपातिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए। यसपटक उनी रूपन्देही–३ बाट प्रत्यक्ष निर्वाचन उठ्ने तयारीमा छन्। उक्त क्षेत्र एमाले नेता घनश्याम भुसाल निर्वाचित भएको क्षेत्र हो।

स्थानीय चुनावमा रूपन्देही–३ मा कांग्रेसलाई ३४ हजार १५३, एमालेलाई २९ हजार ४८, राप्रपालाई १३ हजार ३९७, जसपालाई ६ हजार १८३, माओवादीलाई २ हजार ८८१, लोसपालाई २ हजार १७४, नेकपा एसलाई ९७७ मत प्राप्त भएको थियो।

ज्ञानेन्द्रबहादुर कार्की

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भोजपुरबाट निर्वाचित हुन नसकेपछि २०७४ सालको चुनावमा सुनसरी झरेका थिए। सुनसरी–४ बाट निर्वाचित कार्की यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्नेछन्।

सुनसरी–४ मा कांग्रेस २८ हजार ७५६, एमाले २३ हजार ६१३, जसपा ९ हजार ८६३, नेकपा एस ३ हजार ७००, माओवादी ३ हजार ६४६, राप्रपा ३ हजार ४५७, लोसपा १ हजार ५०४ मत पाउन सफल बनेका छन्।

आरजु देउवा

प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणाको पनि प्रत्यक्षतर्फको टिकट पक्का छ। कैलाली–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने बताउँदै आएकी छिन् । अघिल्लो निर्वाचन ओझासहितका नेताले अन्तरघात गरेको भन्दै पुराना नेता पुष्करनाथ ओझालाई अनुशासनको कारबाही गरेपछि आरजुका लागि अवस्था थप प्रतिकूल बन्न पुगेको छ ।

२०७४ सालको निर्वाचनमा एमाले उम्मेदवार नारदमुनि रानाले ४ हजार ८८० मत बढी ल्याएर आरजुलाई पराजित गरेका थिए। स्थानीय निर्वाचनमा कैलाली–५ मा कांग्रेसले २२ हजार ७७९, एमालेले १७ हजार ४२०, माओवादीले ८ हजार १७५, नेकपा एसले २ हजार ९, राप्रपाले १ हजार ७९७, नागरिक उन्मुक्ति पार्टीले ६५९, लोसपाले ३०२, जसपाले १५० मत पाएका थिए।

एनपी साउद

कञ्चनपुरका एनपी साउद कञ्चनपुर–२ बाट उम्मेदवार बन्नेछन् । साउद एमाले उम्मेदवार नरबहादुर धामीसँग ८ हजार ३२७ मतान्तरले पराजित भएका थिए । कञ्चनपुर–२ मा कांग्रेस २२ हजार ३७९, एमाले १८ हजार ८२८, माओवादी १२ हजार ५७२, नेकपा एस ४ हजार १६१, राप्रपा ३ हजार ९५३ मत प्राप्त गरेका थिए ।

रमेश लेखक

रमेश लेखक कञ्चननपुर ३ प्रतिस्पर्धा गर्दै छन् । लेखक एमालेका दीपक प्रकाश भट्टसँग २५८ मतान्तरले पराजित भएका थिए। कञ्चनपुर–३ मा कांग्रेस २१ हजार ७७२, एमाले १६ हजार ११७, राप्रपा ६ हजार ५०३, माओवादी ५ हजार ९८१ र एस ३ हजार १२ मत पाउन सफल भएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर