भिजिट भिसा प्रकरणमा ‘सेटिङ’को आशंकापछि अनुसन्धानमा तानिए विमानस्थल अध्यागमन प्रमुख

भिजिट भिसामार्फत भइरहेको मानव तस्करीका घटनामा साठगाँठको आशंकापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराम शाही अनुसन्धानमा तानिएका छन्। गृह मन्त्रालयले शाहीलाई जिम्मेवारीबाट हटाएको हो।

मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव घिमिरेलाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ।

भिजिट भिसामा विदेश जानेका लागि सरकारले नयाँ कार्यविधि बनाएको छ । अनलाइनमार्फत भिजिट भिसाको पूर्वस्वीकृति दिने गरी गृह मन्त्रालयले नयाँ कार्यविधि स्वीकृत गरेको हो। तर, मानव तस्करहरूले ग्रामीण भेगका युवतीहरूलाई आकर्षक रोजगारको प्रलोभनमा भिजिट भिसामा दुबई र त्यहाँबाट अन्य मुलुक पठाइरहेका छन्।

यस विषयमा प्रहरीको मानव बेचबिखन ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको बताए पनि तस्करीको क्रम भने राेकिएकाे छैन।

नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले यही भदौ ८ गतेदेखि ११ गतेसम्ममा भिजिट भिसामा विदेश जान लागेका २२७ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको बताए।

प्रहरीले कागजात शंकास्पद देखेपछि उनीहरूलाई विमानमा चढ्नबाट रोकेको थियोे। उनीहरूमध्ये केहीलाई माइती नेपाल पठाइएको र केहीलाई नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको मल्लले बताए।

सरकारले घरेलु कामदार पठाउन रोक लगाएको कुवेत जाना लागेका उनीहरूलाई  फिर्ता गरिएको हो। उनीहरू कुवेतमा घरेलु कामदारका रूपमा आकर्षक तलबको प्रलोभनमा परेका थिए।

यस्तो गतिविधिमा संलग्न गिरोहले राहदानीलगायत आवश्यक कागजात आफैं बनाएर महिला र पुरुषलाई काठमाडौं ल्याइदिने गरेको खुलासा भएको छ। ‘राहदानीसहितका कागजात आफैं बनाइदिएर काठमाडौं ल्याएर राख्ने, दुबई भनेर पठाउने तर कुवेत पुर्‍याउने गरेको पाइएको छ,’ एसपी मल्लले पर्दाफाससँग भने।

अवैध रूपमा कुवेत पठाएको पुष्टि भएपछि पीडितहरूले नै कानुनी कारबाहीका लागि ब्यूरोमा उजुरी दिएको मल्लले बताए। पक्राउ परेकाहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत अनुसन्धान र संलगन अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

उनले उक्त गिरोहले अध्यागमन तथा विमान कम्पनीका कर्मचारीलाई आर्थिक प्रभावमा पारी रात्रिकालीन उडानबाट खाडी मुलुकमा मानव तस्करी गर्ने गरेको आशङ्का रहेकाे बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले मानव तस्करी मुलुकका लागि कलङ्क भएकाले संलग्नलाई कानुनी दायरामा ल्याउन कानुन कार्यान्वयन निकायलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले मानव तस्करीका घटना भयावह रूपमा वृद्धि भएकाले नियन्त्रणका लागि निर्देशन दिएको थियो।

वैदेशिक रोजगारीको प्रलोभनमा पारी भिजिट भिसामार्फत् खाडी पु–याइएका अधिकांश युवती कुवेत, साउदी अरब, इरान र इराकमा पु–याएर बेचबिखन हुने गरेको छ।

मानव तस्करीमा संलग्नको मिलेमतोमा नक्कली कागजपत्रमार्फत् भिजिट भिसाको दुरुपयोग भएपछि नियन्त्रणका लागि विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीले नियमित चेकजाँच गरिरहेको छ।

गृह मन्त्रालयले विमानस्थलको अध्यागमन प्रमुख परिवर्तन भएकाले अबदेखि आवतजावतमा कडाइ गर्ने जनाएको छ। सुरक्षा स्रोतका अनुसार भिजिट भिसामा जाने यात्रुलाई जाँच गरिरहेका प्रहरीलाई आफ्नो नियमित काममा फर्किन मन्त्रालयले निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर