ट्राफिक प्रहरीको ‘ब्ल्याक एण्ड व्हाइट’ अपरेशन : एकैदिन ७४० जना भाडाका सवारी चालक कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबारदेखि भाडाका सवारी चालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर ‘ब्ल्याक एण्ड व्हाइट’ नामक अपरेशन सुरु गरेको छ ।

अभियानको पहिलो दिन मंगलबार मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म भाडाका सवारी साधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरिएको थियो । चेकजाँचको क्रममा अवस्था ठीक नभएका सवारी साधन चलाउने १ सय ८९ जना , तीव्र गतिमा सवारी साधन चलाउने ८ जना र अन्य ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने ५ सय ४३ जना गरी ७ सय ४० जना चालकहरू कारबाहीमा परेका छन् ।

भाडाका सवारी साधनहरूमा धेरै यात्रुहरूले यात्रा गर्ने हुँदा यस्ता सवारी साधनहरूले ट्राफिक नियम उल्लंघन गर्दा दुर्घटना हुन गई धेरै जनधनको क्षति हुने सम्भावना रहेकाले सम्भावित दुर्घटना न्युनीकरण गर्नको लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

साथै आगामी दिनमा पनि ‘ब्ल्याक एण्ड व्हाइट’ अपरेशनले निरन्तरता पाउने प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *