भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक नेपाल–भारत सम्बन्धको आधारस्तम्भ : सेनाध्यक्ष पाण्डे

भारतीय सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भका रूपमा रहेको बताएका छन् ।

नेपाल भ्रमण्माा रहेका सेनाध्यक्ष पाण्डेले पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै भूतपूर्व सैनिकले दुई देशबीचको वर्षौंदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् ।

कर्तव्यनिष्ठता, इमानदारिता नेपाली भूतपूर्व सैनिकको विशिष्टता रहेको उल्लेख गर्दै उनले भूतपूर्व सैनिकको कल्याणकारी योजनाका लागि भारतीय सेना निरन्तर लागिरहेको बताए । भूतपूर्व सैनिकले प्राप्त गर्ने पेन्सनलगायत सेवा सुविधालाई पनि भारतीय सेनाले सहज र सरल बनाइरहेको उनले बताए ।

भारतीय सेनामा ३५ हजार गोर्खा सैनिक सेवारत रहेको र एक लाख २५ हजार भूतपूर्व सैनिक रहेको उनले जानकारी दिए । नेपाल र भारतबीच सांस्कृतिक, आहारविहार आदिमा समानता रहेको र खुला सिमानाका कारण दुवै देशका नागरिक सहज रूपमा आवतजावत गर्दै आएको सेनाअध्यक्ष पाण्डले बताए ।

सो अवसरमा उनले भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका सैनिकका परिवारजनलाई नगद चेक तथा सामग्री हस्तान्तरण गरे ।

साथै उनले दुर्गममा बस्ने भूतपूर्व सैनिकको स्वास्थ्योपचारलाई लक्षित गरी तीनवटा मोबाइल मेडिकल युनिटको चाबी हस्तान्तरण गरे । कार्यक्रममा सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक र परिवारजनसँग शिष्टाचार भेट गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर