खोटाङको लालुपाते सहकारीका अध्यक्षको निधनपछि बचतकर्ताको बिचल्ली

लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सङ्कटमा परेपछि हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न ऋणीलाई आग्रह गरेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधन भएपछि सङ्कटमा परेको सो सहकारीले सार्वजनिक सूचनामार्फत हप्ता दिनभित्र सावाँ, ब्याज र हर्जना रकम चुक्ता गर्न ऋणीलाई आग्रह गरेको हो ।

ऋण फिर्ता गर्न नआउने ऋणी तथा जमानीकर्ताको चलअचल सम्पत्तिबाट कर्जा असुलउपर गर्नेदेखि सहकारी ऐन २०७४ बमोजिम सम्बन्धित सबैको नाम, ठेगाना सार्वजनिक गर्ने चेतावनीसमेत सूचनामार्फत दिइएको छ । मौखिकबाहेक १५ दिने र सातदिने पत्र पठाएर ताकेता गर्दा तथा राष्ट्रिय दैनिकमा ३५ दिने सूचना निकाल्दासमेत कर्जा चुक्ता गर्न बेवास्ता गरेकाले कडाइ गर्नुपरेको सहकारीले जनाएको छ ।

वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ विसं २०७२ मङ्सिर १० गतेदेखि दिक्तेलबजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीमा जिल्लाका चार हजार पाँच सय बचतकर्ताको लगानी रहेको छ । एकै जना लगानीकर्ताले ४५ लाख रुपैयाँसम्म बचत गरेका छन् । सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो ।

जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्षसमेत रहेका जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न आउँदा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्ने क्रममा बचत अपचलन भएको विषय बाहिर आएको हो ।

आफूहरूले थोपा–थोपा गरेर जम्मा गरेको बचत डुबेको भन्दै बचतकर्ता छटपटीमा परेका छन् । आफूले जम्मा गरेको बचत फिर्ताका लागि बचतकर्ता दैनिकजसो सहकारीको ढोका ढकढकाउन सहकारीको कार्यालय पुग्ने गरेका छन् ।

वि.सं. २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ । हाल आक्रोशित बचतकर्तालाई निमित्त व्यवस्थापक सुमिना राईले ‘बचत फिर्ता गरिदिने’ जनाउँदै सम्झाइबुझाइ फर्काउने गरेका छन् ।

जोशीले सहकारीको नाममा खरिद गरिएको जग्गासमेत परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आव २०७७÷७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । तत्कालीन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी संस्थाका सदस्य तुलसीराम आचार्यले बताए ।

बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रक्रिया अघि बढाएको थियो । ऋण असुल गर्नका लागि ऋणीलाई ३५ दिने, १५ दिने र सातदिने पत्र पठाएर ताकेता गर्दा केहीबाहेक अधिकांश ऋणीले ऋण भुक्तान गर्न नआएको सहकारीले जनाएको छ ।

सहकारीको ७४ जना ऋणी छन् । उनीहरुले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिन्छ । तर उनीहरुमध्ये अधिकांशले मृतक जोशीलाई आफूले लगेको ऋणवापतको रकम फिर्ता गरिसकेको बताउने गरेको स्रोतले जनाएको छ ।

सहकारीको जग्गाबाहेक सावाँ–ब्याजसहित करिब रु १० करोड ऋण लगानी रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । बचतकर्तालाई सावाँ–ब्याजसहित करिब रु सात करोड फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । तर अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन देखिएको सञ्चालक समितिले जनाएको छ ।

सहकारीबाट भएका ऋण लगानी उठाउन सके बचतकर्तालाई उनीहरुको बचत फिर्ता दिएर केही रकम बच्ने अवस्था रहेको सदस्य आचार्यले बताउनुभयो । चल–अचल सम्पत्ति हेर्दा सहकारी डुबेको नभई सङ्कटमा फसेको देखिन्छ ।

अधिकांश ऋणी जोशीका परिवार तथा आफन्त, दिक्तेल बजारका प्रतिष्ठित व्यापारी र एकजना पोखराका व्यक्तिसमेत देखिएका छन् । उनीहरुले सञ्चालक समितिको निर्णयबिना नै विभिन्न समयमा ऋण लगेको तर हालसम्म फिर्ता नगरेको लेखा परीक्षण प्रतिवेदनले औँल्याएको छ ।

-रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *