सन्दीप लामिछानेविरुद्ध अदालतको पक्राउ पुर्जी

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले बिहीबार लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

मंगलबार एक १७ वर्षीया नाबालिग किशोरीले लामिछानले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेकोमा बिहीबार अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालायका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले लामिछानेलाई पक्राउ गरी अनुसन्धानका लागि अनुमति प्राप्त भएको जानकारी दिए ।

उनले लामिछानेविरूद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसुरमा अनुसन्धान हुने बताए । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ । संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

पक्राउ पुर्जी ल्याएपछि प्रहरीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरी स्रोतको भनाइ छ ।

लामिछानेले भने क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लसँगको टेलिफोन कुराकानीमा आफू निर्दोष भएको र सीपीएल सकिनेबित्तिकै वेस्ट इन्डिजबाट फर्किने बताएका छन् । लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोबी प्रस्थान गरेका थिए । उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गएका हुन् । बिहीबार बिहान उनीसम्मिलित टिम जमैका तलावाजको खेल भए पनि उनलाई भने खेलाइएको थिएन । क्यानसँगको कुराकानीमा भने उनले टिमले घटनाबारे थाहा पाए पनि खेल्न कुनै समस्या नहुने बताएका छन् ।

बालिकाले दिएको जाहेरीमा गत भदौ ५ गते साँझ लामिछानेले नगरकोट लगेको र त्यही रात फर्किएर गौशालाको एक होटलमा ल्याई जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ ।

जाहेरीमा उल्लेख गरेका केही विषय उद्धृत गर्दै परिसरले बुधबार जारी गरेको विज्ञप्तिमा लामिछानेले किशोरीलाई भदौ ५ मा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी पुनः त्यही रात ११ः५५ मिनेटमा गौशालाको एक होटलमा ल्याई पटकपटक जबर्जस्ती करणी गरेको उल्लेख छ । दुवै जना भोलिपल्ट बिहान पौने ७ बजेतिर होटलबाट बाहिरिएका थिए । जाहेरीमा किशोरीले आफूले लामिछानेसँग सामाजिक सञ्जाल (स्न्याप च्याटमार्फत) एक प्रशंसकका रूपमा कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर होटलमा लगी बलात्कार गरेको बताएकी छन् ।

जाहेरीलगत्तै प्रहरीले घटनास्थल पुगेर सीसीटीभी फुटेज निकाल्नुका साथै होटल सञ्चालकसँग पनि सोधपुछ गरिसकेको छ । प्रहरीले पीडितलाई ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’मा विस्तृत स्वास्थ्य परीक्षण गराएको भए पनि स्वास्थ्य परीक्षण रिपोर्टबारे भने केही खुलाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *