गठबन्धन तोड्नु भनेको कांग्रेसलाई सिध्याउने षड्यन्त्र हाे : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । तर, गठबन्धन कुनै हालतमा नटुट्ने र तोड्न नहुने उनको भनाइ छ ।
नेपाली कांग्रेस चितवनले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले भने, “बल्ल–बल्ल पार्टी बलियो हुँदैछ, यसलाई सिध्याएर के हुन्छ ? यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।”
उनले गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुनेगरी लाग्नुपर्नेमा जोड दिए । उनले भने, “गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन ।”
गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताए । उनले  पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरे ।
गठबन्धन भएर सरकार बनेकै कारण नेकपा (एमाले)को एकलौटी अन्त्य भएको उनले बताए । उनले भने, “उनीहरूको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन ।”
हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको बताए । देउवाले भने, “हिजोको अवस्था कस्तो थियो ? ओली सरकारलाई हटाउनुप¥यो, हटाउनुप¥यो भनेको होइन सबैले अहिले यो हुँदैन, त्यो हुँदैन भन्नु हुँदैन । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।”
कतिपयले एमसीसीसँगै अमेरिकी सेना पस्छ भनेर भ्रम फैलाएकामा आपत्ति जनाउँदै उनले भने, “खै विदेशी सेना आयो त ? अहिले विदेशी सेना आएको छ त ? यस्तो पनि कुरा पत्याएर हिँड्ने हो ?  झुटा आक्षेप लगाउने र प्रचार गरेर पार्टीलाई सिध्याउन खोजेका हुन् । झुटा प्रचार गरेर हाम्रो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ, षड्यन्त्र भइरहेको छ ।”
उनले वर्तमान सरकारले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरेको र  अगामी मङ्सिरमा हुने प्रदेश र सङ्घको चुनाव पनि शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा  सम्पन्न हुने बताए । उनले सरकारले नेपालको संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *