लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन जरुरी छ ।” उनले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको बताए ।

बीपीको प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता अझै बढेर गएको उनको भनाइ थियो । विश्वमा नेपाललाई चिन्दै गर्दा सगरमाथाको देश, गौतमबुद्ध जन्मिएको देश र बीपीको जन्मभूमि भनेर चिन्ने गरेको उनले बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले निर्वाचनमा गठबन्धनको उम्मेदवारले हार्नुपर्दा गठबन्धनले हार्ने भएकाले सोहीअनुरूप परिचालन हुन अनुरोध गरे ।

कार्यक्रममा अर्की कांग्रेस केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामकृष्ण घिमिरे र क्षेत्रीय सभापति राजु सिलवालले आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी हुने गरी एकजुट बनाएर अघि बढाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा जिल्लाका विभिन्न तह र तप्कामा रहेर पार्टीलाई योगदान पुर्‍याउने जीवित र मरणोपरान्त गरी एक सय ५० जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर