संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको छ : पूर्वराष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको बताएका छन् । जननायक बीपी कोइरालाको १०९औँ जन्मजयन्तीका अवसरमा तेज–तीर्थ ट्रष्टले काठमाडौंमा शुक्रबार आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मा उनले संविधानमाथि आक्रमण हुन लागेको भन्दै यसलाई जोगाउन राजनीतिक दलको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

“संविधानको रक्षा गर्ने प्रमुख जिम्मा कांग्रेससहितका राजनीतिक दलको हो, राजनीतिक दलबाट बनेको संविधानको रक्षा गर्ने काम पनि राजनीतिक दलकै हो”, उनले भने । देशको एकता, अखण्डता आवश्यकतालाई समेटेर समृद्ध मुलुक निर्माणमा सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति डा. यादवले सङ्घ, प्रदेश र स्थानीय तहको कानून बन्न नसक्नु दुःखद् कुरा भएको बताउनुभयो । उहाँले राष्ट्रियता, सार्वभौमिकता, भूगोललाई मिलाएर संविधान निर्माण भएको बताउँदै संविधानको रक्षाका लागि लाग्नुपर्ने बेला आएको उल्लेख गरे ।

संविधान निर्माणसँगै तीन तहको सरकार निर्माण हुनु सुखद पक्ष भए पनि जनतामा भ्रष्टाचार भएको र सुशासन नभएकामा असन्तुष्टि पैदा भएको बताए । पूर्वराष्ट्रपति डा. यादवले बीपी कोइराला देश र लोकतन्त्रका पक्षमा सधैँ चिन्तित हुने गरेको बताए । उनले पछिल्लो समय बीपी कोइरालाको जेल जर्नल, भाषण, आत्मावृत्तान्त कांग्रेसले पढ्न र बुझ्न नसकेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर