दुई वर्षपछि नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठक, मंगलबार दिल्ली जाँदै पौड्याल

परराष्ट्रसचिव भरतराज पौड्याल मंगलबार भारत भ्रमणमा जाने भएका छन्। आफ्ना भारतीय समकक्षी विनयमोहन क्वात्राको मैत्रीपूर्ण निमन्त्रणमा उनी नयाँदिल्ली जान लागेका हुन्।

पौड्यालको भारत भ्रमणबारे नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्। परराष्ट्रसचिव पौड्याल २८ भदौमा दिल्ली जाने र ३० भदौमा स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

पौड्याल परराष्ट्रसचिव भएपछि पहिलोपटक उनको यो औपचारिक भ्रमण हो । यसअघि उनी प्रधानमन्त्री र परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका रूपमा भारत गएका छन् । भारतीय विदेशसचिव क्वात्राको निमन्त्रणामा जान लागेका उनले भारतको राजनीतिक नेतृत्वसँग भेटवार्ताबारे परराष्ट्रले सार्वजनिक गरेको छैन । दुई देशबीच सहकार्यका सबै विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ ।

परराष्ट्रसचिव बनेपछि पौड्यालको यो पहिलो औपचारिक भ्रमण हो। यसअघि उनी प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलको सदस्यका रूपमा भारत गएका थिए।

भ्रमणका क्रममा परराष्ट्र सचिवले आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने र दुई पक्षबीच नेपाल र भारतबीचको सहयोगका विभिन्न क्षेत्रमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

पौड्यालको भ्रमणमा नेपाल र भारतबीच हालैका उच्चस्तरीय भ्रमण आदानप्रदानका क्रममा अघि बढाइएका पहल र विभिन्न घोषणाको प्रगति समीक्षा हुने भारतीय परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा गत अप्रिल पहिलो साता नयाँ दिल्ली गएका थिए। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मे दोस्रो साता लुम्बिनी भ्रमणमा आएका थिए। यी दुई उच्चस्तरीय भ्रमणमा सीमा समस्या लगायत विषयमा प्रगति नभए पनि उर्जा क्षेत्रमा दीर्घकालीन सहकार्यका सवालमा दुई देशबीच महत्त्वपूर्ण समझदारी भए। मोदी सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री नियुक्त भएयता पाँच पटक नेपाल आइसकेका छन्। मोदी सरकारले ‘छिमेक प्रथम नीति’ अनुसार नेपाल लगायत छिमेकीसंग सम्बन्ध विस्तारको नीति अघि सारेको छ।

परराष्ट्रसचिव पौड्याल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको भारत डिभिजन हेर्ने सहसचिव सुधीर भट्टराई, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र उपनियोग प्रमुख रामप्रसाद सुवेदी रहनेछन् । परराष्ट्रसचिवस्तरीय वार्तामा राजनीतिक विषय कम र द्विपक्षीय सहकार्यका विषय बढी हुने गरेको छ । व्यापार, पारवहन, कनेक्टिभिटी, ऊर्जा, पूर्वाधार, लगानी, कृषि, संस्कृति, जनस्तरको सम्बन्ध, सुरक्षालगायतका विषयमा छलफल हुनेछ ।

दुई वर्षअघि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पूर्वसन्ध्यामा परराष्ट्रसचिवस्तरीय वार्ता २२ मंसिर ०७७ मा काठमाडौंमा भएको थियो । त्यसको करिब एक महिनापछि १ माघ ०७७ मा नयाँदिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक बसेको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले आ–आफ्ना मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

दुई वर्षअघि परराष्ट्रसचिवस्तरीय बैठकमा सहभागी हुन भारतबाट विदेशसचिव हर्षबर्धन शृंगला आएका थिए । शृंगलाले अवकाश पाएपछि विदेशसचिव भएका क्वात्रा र नेपाली समकक्षीबीच पहिलोपटक दिल्लीमा औपचारिक वार्ता हुन लागेको हो । दुई वर्षअघिको वार्तामा नेपालका लागि भारतीय राजदूतका रूपमा क्वात्रा सहभागी थिए । यसपटक परराष्ट्रसचिवस्तरीय बैठकपछि संयुक्त आयोगको सातौँ बैठक हुने अझै सुनिश्चित छैन । नेपालमा निर्वाचनपछि मात्रै संयुक्त आयोगको बैठक बस्ने परराष्ट्र अधिकारीहरूको भनाइ छ ।

संयोगवश त्यसवेला नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठकको तीन दिनपछि चिनियाँ रक्षामन्त्री वेई फेङ्गेले १४ मंसिरमा नेपालको भ्रमण गरेका थिए । यसपालि चिनियाँ पिपुल्स कंग्रेसका अध्यक्ष ली झाङ्सु नेपाल भ्रमणमा आएको भोलिपल्ट नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक हुन लागेको हो । अध्यक्ष ली २७ भदौमा काठमाडौं आउने कार्यक्रम छ । त्यही दिन सभामुख अग्निप्रसाद सापकोटासँग हुने द्विपक्षीय वार्तामा परराष्ट्रसचिव पौड्याल पनि हुनेछन् ।

कूटनीतिक स्रोतका अनुसार परराष्ट्रसचिवस्तरीय बैठकमा दुई देशबीच सिमानाका विषय औपचारिकताका लागि उठे पनि विस्तृतमा छलफल हुनेछैन । लिपुलेक, लिम्पियाधुरा सीमाका विषयमा मात्रै केन्द्रित भएर बैठक गर्न भारत तयार नभएका कारण यसपटकको भ्रमणमा सहकार्यका क्षेत्रहरूको पुनरवलोकन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर