दार्चुला पहिरो : उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन, यस्तो छ क्षतिको पछिल्लो विवरण

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परी घाइते भएका र प्रभावित भएकाहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनको निर्देशनपछि गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, विपद् व्यवस्थापन महाशाखा हेर्ने सहसचिव प्रदीप कोइरालाले नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पठाइसेका छन् ।

गृह मन्त्रालयका प्रवक्तासमेत रहेका पोखरेलले बाढी र पहिरोमा परी गम्भीर घाइते भएकाहरूलाई उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको छ । घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरेर सदरमुकामस्थित जिल्ला अस्पतालमा लगिएको छ ।

नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआईजी मोहन आचार्यका अनुसार अहिलेसम्म शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पु¥याएको छ । अहिलेसम्म ५ जनाको शव भेटिएको, ७ जना बेपत्ता रहेको र ८ जना घाइते उनले जानकारी दिए । घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको डीआईजी आचार्यले बताए ।

बाढीले लास्कु क्षेत्रका ४, बांगाबगर क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालय पूर्ण रूपमा क्षति भएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ । बाढीले पार्किङमा राखेका ५ बोलेरो जीप बगाएको छ भने १ ट्याक्टर र १ अल्टो कार बगाएको प्रहरी जनाएको छ ।

अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतले खोज तथा उद्धार गरिरहेका छन् ।
गृहमन्त्री खाणले बाढी पहिरोबाट विस्थापितलाई तत्काल राहत, उद्धार र स्थानान्तरणको व्यवस्था गर्न निर्देशन दिएको दार्चुलाका प्रजिअ उपाध्यायले बताए ।

सरकार नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि कुनै कसर बाँकी नराख्न उनले गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

हालसम्म प्राप्त क्षति विवरण-

मानिसको मृत्यु
१.जिल्ला दार्चुला मनपा २ मुल्ला मोड बस्ने वर्ष अन्दाजी ७७ को नन्दराम बोहोरा
२.नौगाड गापा २ दल्लेख बस्ने वर्ष ६८ को मोहनराम पार्की
३.मनपा ३ बस्ने वर्ष अन्दाजी ३५ की मानमती कार्की
४. नौगाड गापा १ सल्ला बस्ने वर्ष अन्दाजी ३२ की जानकी ठगुन्ना
५.नौगाड गापा १ बस्ने वर्ष १५ की धनुली ठगुन्ना ।

मानिस घाइते
१.नौगाड गापा १ सल्ला बस्ने बिरे ठगुन्ना
२। सोही स्थान बस्ने वर्ष ३४ की रम्भा ठगुन्ना
३.सोही स्थान बस्ने वर्ष ३४ की फागुनी ठगुन्ना
४. सोही स्थान बस्ने वर्ष ४१ का जयबहादुर ठगुन्ना (यी चार जना घाइतेहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि लगिएको छ ।)
५.सोही नगरपालिका २ मैखोली बस्ने वर्ष ६४ का हर्कसिंह साहू (घटनास्थलमा रहेको )
६.सोही नपा ४ बस्ने अमरसिंह पार्की
७.सोही नपा ४ बस्ने मुसी पार्की
८.नौगाड गापा ६ बस्ने वष ३० का राम टमाटा (महाकाली नदीबाट उद्धार गरिएको)

मानिस बेपत्ता 
१.जिल्ला दार्चुला मनपा ३ डुङ्गी बस्ने धनसिंह कार्की, उनका छोराहरू दीपक कार्की र दिनेश कार्की
२.सोही नपा २ बस्ने हर्क संह साहूकी श्रीमती मानमती साहू
३. दुहुँ गापा घर भई हाल मनपा १ लास्कुपारी डेरा गरी बस्ने वर्ष ३२ की मञ्जु लुहार
४. सोही स्थान बस्ने वर्ष २७ का दिनेश लुहार
६.सोही स्थान बस्ने वर्ष ३ की डल्ली लुहार
७.सोही स्थान बस्ने वर्ष २५ का साजन लुहार ।

सवारी साधन क्षति 
१.जिल्ला दार्चुला व्यास गापा ६ बस्ने जनक बमको से१ ज२९३ नं. को बोलेरो जीप बगाई बेपत्ता
२.सोही स्थान बस्ने दिलबहादुर बमको से१ ज६८३ नं. को बोलेरो जीप बगाई बेपत्ता
३.जिल्ला दार्चुला दुहुँ गापा ४ बस्ने दीपेन्द्र बमको से१ ज९८२ नं. को बोलेरो जीप बगाई बेपत्ता
४.सोही गापा ३ श्रीबगर बस्ने नरेन्द्र बम को सु.प.प्र.०१००१च. ३०८७ न.को अल्टो कार बगाई बेपत्ता
५.महाकाली नपा ४ बस्ने लालसिंह धामीको म१च ४२२ नं. को बोलेरो जीप र निजकै सु.प.प्र.०१००१च.२६७६ नं. को बोलेरो जीप बगाई बेपत्ता
६. दुहुँ गापा ४ बस्ने मासिंह महराको सु.प.प्र.०१००१ त१४३७ नं. को ट्याक्टर बगाई बेपत्ता ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *