आलोचना भइरहेका बेला बागमती प्रहरीलाई भवन बनाउन हेटाैंडा उपमहानगरकाे अनुदान

बागमती प्रदेश सरकारको सिको गर्दै हेटौंडा उपमहानगरपालिकाले प्रहरी कार्यालयको भौतिक पूर्वाधार निर्माण गर्न अनुदान सहयोग गर्ने भएको छ । प्रदेश सरकारले सङ्घीय सरकारमातहत रहेका प्रहरी कार्यालयको भवन निर्माणलगायतका पूर्वाधार र सवारी साधन खरिदमा अनुदान सहयोग गरेको भन्दै आलोचना भइरहेको समयमा हेटौँडा उपमहानगरपालिकाले अनुदान सहयोग गर्ने निर्णय गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाको शुक्रबार बसेको नगर कार्यपालिका बैठकले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वरिष्ठ प्रहरी अधिकृतका लागि आवास निर्माण गर्न अनुदान सहयोग गर्ने निर्णय गरेको हो । उपमहानगरपालिका–१ का वडाध्यक्ष एवं प्रवक्ता सवीन न्यौपानेले जिल्ला प्रहरी कार्यालयलाई आवास निर्माण गर्न उपमहानगरपालिकाको बजेटबाट २० लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए ।

‘प्रहरीको आवास पुरानो भएकाले समस्या भएको भन्दै सहयोग माग भएर आएको थियो,’ उनले भने, ‘उपमहानगरले दिने बजेटले त पुग्दैन तर अनुदान सहयोग गर्ने निर्णय भएको छ ।’

प्रदेश सरकारले सङ्घीय सरकारमातहत रहेको प्रदेश प्रहरी कार्यालय र काठमाडौँ उपत्यकाबाहेकका जिल्लाका प्रहरी एकाइको भौतिक संरचनामा सुधार, नयाँ निर्माण, उपकरण, सवारी साधन खरिदमा ठूलो बजेट खर्च गर्दै आएको छ । सङ्घीय सरकारले प्रदेश सरकारलाई प्रहरी ऐनअनुसार हस्तान्तरण गर्ने अपेक्षासहित लगानी गर्दै आए पनि अझै हस्तान्तरण गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर