प्रधानसेनापति प्रभुराम शर्माको एक वर्ष पूरा, निर्वाचन केन्द्रित हुन सकल दर्जालाई निर्देशन

प्रधानसेनापति प्रभुराम शर्माले पदबहाली गरेको आइतबार एक वर्ष पूरा भएको छ। सो अवसरमा प्रधानसेनापति शर्माले सकल दर्जालाई सम्बोधन गरेका छन्।

सैनिक मुख्यालय जंगी अड्डास्थित सभामण्डपमा आयोजित कार्यक्रममा सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले कार्यकाल सफलता असफलाता भन्दा पनि आसन्न आमनिर्वाचनको सुरक्षामा केन्द्रित हुन निर्देशन दिएका छन्।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाइ सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानीलगायत विष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको बाहिरी सुरक्षाजस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गरी आफ्नो व्यावसायिकताको उदाहरण प्रस्तुत गर्न निर्देशन दिएका हुन्।

साथै राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना समयसीमाभित्रै निर्माण सम्पन्न गर्नसमेत उनले निर्देशन दिए।

प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरू र प्राप्त उपलब्धिहरूको पनि समीक्षा गरेका थिए। प्रधानसेनापति शर्माले प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आगामी कार्यदिशाका बारेमा जानकारी गराए।

यस्तै प्रधानसेनापति शर्माले हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सूक्ष्म अध्ययन र विश्लेषण गर्दै नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिए। उनले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढीकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने उल्लेख गरे।

प्रधानसेनापति शर्माले नेपाली सेना सबै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रबिन्दु भएको उल्लेख गर्दै राज्यमा उत्पन्न संकट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको समेत उल्लेख गरे। साथै नेपाली सेनाको मूल्यमान्यताको संवर्द्धन र प्रवर्द्धन गर्दै सकल दर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने विषयमा जोड दिए।

सो अवसरमा प्रधानसेनापति शर्माले नेपाली सेनाको कफी टेबल बुक (आ.व. २०७८/०७९) र ‘नेताहरूको पठन संग्रह’ को समेत विमोचन गरी उत्कृष्ट लेखकहरूलाई पुरस्कार वितरण गरे।

नेपाली सेनामा कार्यरत उपत्यकाभित्रका रथी, अधिकृत, पदिक तथा अन्य दर्जा सहभागी रहेको सो कार्यक्रमलाई नेपाली सेनाका सम्पूर्ण फर्मेशन, युनिट तथा सब युनिटहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर