भ्रष्टाचार आरोपमा सीटीईभीटी कर्णालीका तत्कालीन दुई प्रमुखसहित ११ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्णाली प्रदेश कार्यालय सुर्खेतका दुई जना तत्कालीन प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ३ स्थित चामुण्डा माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकम अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।

यसरी मुद्दा दर्ता हुनेमा सीटीईभीटी कर्णालीका तत्कालीन कामु निर्देशक (कार्यालय प्रमुख) द्वय भीमकान्त लामिछाने र मोहनबहादुर कार्कीसँगै लेखा अधिकृत शिवराम रोकाय, चामुण्डा माविका तत्कालीन प्रधानाध्यापक जयप्रसाद तिमिल्सेना, सहलेखापाल नरेशबहादुर शाही, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दबहादुर शाही छन्।

यस्तै तालिमका लागि चामुण्डा माविसँग सम्झौता गर्ने संस्था इलाइट इन्फ्रास्ट्राक्चर एण्ड डिभलपमेन्ट कन्सल्ट्यान्ट प्रालिका सञ्चालक उपेन्द्रकुमार शाही, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ बस्ने धुपेन्द्रबहादुर शाही, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृत पदमबहादुर बूढा क्षेत्री, सीटीईभीटी कर्णालीका तत्कालीन सहायक प्रशिक्षक गङ्गाराज शाही र कर्णाली प्राविधिक शिक्षालय जुम्लाका तत्कालीन प्रशिक्षक हिराबहादुर शाहीविरुद्ध पनि मुद्दा दर्ता भएको छ।

उनीहरूले बिना सूचना, बिना प्रतिष्पर्धा एकैचोटि कार्यक्षेत्र, क्षमता, आवश्यक पूर्वाधारसमेत अध्ययन नगरी तालिम सञ्चालनका लागि अनुमति लिनेदिने गरी ३ करोड ४३ लाख ८८ हजार ८ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

अख्तिायरका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार ती तालिम चामुण्डा मावि आफैँले सञ्चालन गर्नुपर्नेमा इलाइट इन्फ्रास्ट्क्चर एण्ड डिभलपमेन्ट कन्सल्टयान्ट प्रालि काठमाडौंलाई सबै तालिम सञ्चालन गर्न अनुमति प्राप्त गर्नुपूर्व करारनामा गरी तालिम सञ्चालन गर्न दिएको भनी सम्झौता कागज तयार गरेको थियो।

यसरी सम्झौता गर्दा कुनै सूचना प्रकाशन एवं प्रतिस्पर्धा नगरी सार्वजनिक खरिद ऐन–२०६३ र सार्वजनिक खरिद नियमावली–२०६४, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् आर्थिक प्रशासनसम्बन्धी विनियमावली–२०६२ मा रहेका प्रावधानविपरीत बोलपत्रमार्फत गर्नुपर्ने कार्य नगरी सिधै मिलेमतोमा तालिम सञ्चालन गर्न दिएको अख्तियारले जनाएको छ।

छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम सञ्चालन कार्यविधि–२०७५ अनुसार प्रशिक्षार्थी छनौट प्रक्रिया र तालिमका सहभागीहरूको योग्यता तोकिएकोमा सो पालना नगरी सिधै निजी संस्थाले प्रशिक्षार्थी छनौट गरेको देखिएको, उक्त कार्यविधिअनुसार मुख्य र सहायक प्रशिक्षक नतोकिएको, सामान खरिद गरेको भन्ने झुठा बिलहरु पेस गरेको र खरिद सामान आम्दानी तथा खर्च गरेको नदेखिएको अख्तियारको दाबी छ।

तालिम सञ्चालनका लागि चाहिने सामान नै खरिद नगरिएको भन्ने देखिँदादेखिँदै तालिम सञ्चालन भएको भनी रितपूर्वकका बिल भरपाई, कागजात नराखी, लेखाङ्कनसमेत नगरी, नक्कली तथा झुटा बिल भरपाई कागजातहरू पेस गरी सो विद्यालयबाट गोश्वारा भौचरसमेत नउठाई सिधै व्यक्ति तथा संस्थालाई रकम भुक्तानी दिई खर्चसमेत गरेको कार्यलाई मान्यता दिनेगरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतका कर्मचारीहरूले चामुण्डा माविका प्रधानाध्यापक, विव्यसका पदाधिकारी र इलाइट इन्फ्रास्ट्रक्चर डिभलपमेन्ट कन्सल्ट्यान्ट प्रालि काठमाडौं नामक निजी संस्थाका संचालकसमेतसँगको मिलेमतोमा सरकारी सम्पत्ति हानिनोक्सानी पुर्‍याएको देखिएको प्रवक्ता भण्डारीले बताए।

उनीहरूलाई भ्रष्टाचार गरेको रकम बराबरको बिगो कायम गर्दै अख्तियारले सजायको मागदाबी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *