चिनियाँ जनकंग्रेस अध्यक्ष लीकाे सुरक्षामा कुनै कमी हुन नदिन गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले सोमबार नेपाल आउन लागेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सुरक्षामा कुनै कमी हुन नदिन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्।

आइतबार अपराह्न गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकमा लीको भ्रमणमा हुने सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखहरूले गृहमन्त्री खाणलाई जानकारी गराएका थिए। गृहमन्त्री खाणले अहिलेसम्म विदेशी उच्चपदस्थ अधिकारीहरू आउँदा आ–आफ्नो जिम्मेवारीअनुसारको सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिएको उल्लेख गर्दै यो भ्रमणमा पनि त्योभन्दा चुस्तदुरुस्त सुरक्षा व्यवस्था हुनेमा आफू विश्वस्त रहेको बताएका हुन्।

चिनियाँ जनकंग्रेस अध्यक्ष ली सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा करिब एक सय अधिकारीहरूका साथ नेपाल भ्रमणमा आउँदैछन्। अध्यक्ष ली राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लि खछ्याङपछिका तेस्रो वरियताको शीर्ष नेता हुन्। भ्रमण दलमा सीपीसीको मन्त्रीस्तरका ६ जना, राज्यमन्त्रीस्तरका २ जना नेता र विदेश मन्त्रालयका अधिकारीलगायत रहने बताइएको छ।

भ्रमणदलले २७ देखि २९ भदौसम्म नेपाल भ्रमण गर्नेछ। त्यस क्रममा नेपाल र चीनका व्यवस्थापिकाबीचको सम्बन्ध विस्तार, नेपाल र चीनका शासन र सुशासनका अनुभव, सांसदबीच भ्रमण आदानप्रदान, जलवायु परिवर्तन, द्विपक्षीय राजनीतिक तथा आर्थिक सम्बन्ध, विगतमा भएका सहमति कार्यान्वयन र अन्तर्राष्ट्रिय परिस्थितिलगायत मुद्दामा छलफल हुनेछ।

यस्तै बैठकमा दार्चुला जिल्लामा शुक्रबार राति गएको बाढी–पहिरोमा परी घाइते र विस्थापित भएकाहरूलाई उद्धार, राहत र पुनःस्थापना यथाशक्य चाँडो गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। विपद्बाट प्रभावितलाई खाद्यान्न सडकबाट पु¥याउन समस्या भएमा हेलिकोप्टरबाट भए पनि यथाशक्य पुर्‍याउने निर्णय पनि बैठकमा भएको छ।

बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षा निकाय मिलेर तयार गरेको ‘विशेष सुरक्षा योजना’ पारित गरेको छ। त्यही सुरक्षा योजनाको आधारमा जिल्ला जिल्लामा पनि थप योजना बनाउन सक्ने पोखरेलले बताए।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायत उपस्थित थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर