चिनियाँ जनकंग्रेसका अध्यक्ष ली आज नेपाल आउँदै, यस्ताे छ कार्यक्रम

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)स्थायी समितिका सदस्य तथा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सय जनाको जम्बो टोलीसहित सोमबार अपराह्न साढे तीनबजे काठमाडौंमा उत्रँदै छन् ।

सीपीसीको २० औं जनकंग्रेसअघि ली नेपाल भ्रमणमा आएका हुन् । अक्टोबरमा हुने तय भएको जनकंग्रेसले नयाँ नेतृत्व छनोट गर्ने छ । अध्यक्ष ली पनि जिम्मेवारबाट बाहिरिने संभावना छ ।

उनी रुस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएको छ । मन्त्रीस्तरका ६ नेतासमेत रहेको लीको टोली विशेष विमानमा नेपाल आउन लागेको सरकारी अधिकारीले जनाएका छन् । ली सीपीसीको तेस्रो वरीयतामा पर्छन् ।

अध्यक्ष लीले सोमबार नै सभामुख अग्निप्रसाद सापकोटासँग नयाँ बानेश्वरस्थित संसद् भवनमा द्विपक्षीय वार्ता गर्नेछन् ।

द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकंग्रेसबीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदानप्रदानका सम्बन्धमा सम्झौता हुने छ । सभामुख सापकोटाले सोमबार नै लीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् ।

अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि अध्यक्ष लीको नयाँ बानेश्वरमै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अध्यक्ष लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ । ती दुवै भेटवार्ता बानेश्वरको संसद् भवनमै हुनेछन् । ली बिहीबार नेपालबाट फर्कने कार्यक्रम छ । नेपालबाट उनी दक्षिण कोरिया जाने छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर