माओवादी अध्यक्ष दाहालसँग गृहमन्त्री खाण र कानुनमन्त्री शर्माको भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाल निवास खुमलटारमा सोमबार बिहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए ।

प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्री र सत्तारुढ दल माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालसँग कुराकानी भएको हो । संक्रमणकालीन न्याय सम्बन्धी तथा मिडिया काउन्सिल विधेयक सरकारले अघि बढाएपनि पारित हुन सकेको छैन ।

संक्रमणकाली न्याय सम्बन्धी विधेयकमा द्वन्द्वपीडित तथा विभिन्न सरोकारवाला संघसंस्थाहरुको चासो रहेको छ भने मिडिया काउन्सिल विधेयकमा पत्रकार महासंघको आपत्ति रहेको छ ।

त्यस्तै भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *