पूर्वप्रहरीको नेतृत्वमा ‘लुटेरा ग्याङ’, शृंखलाबद्ध लुटपाटमा बहालवाला सईसमेत शंकाको घेरामा

नेपाल प्रहरीका पूर्वअसई (सहायक निरीक्षक) को नेतृत्वमा रहेकाे  ‘लुटेरा ग्याङ’ ले काठमाडौं उपत्यकामा शृंखलाबद्ध लुटपाट गरेको खुलेको छ। यसमा एक जना बहालवाला प्रहरी नायब निरीक्षक (सई)काे संलग्नताको आशंकामा समेत अनुसन्धान भइरहेको छ। उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा केही दिन अघिमात्र काज सरुवा भएका हुन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित कात्यायनी चोकमा रहेको कपिल श्रेष्ठले सञ्चालन गरेको मोबाइल पसलमा आइतबार भएको लुटपाटपछि यस्तो रहस्य बाहिर आएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आइतबार राति ‘लुटपाट’ शैलीमा उनीहरूले श्रेष्ठको मोबाइल पसलबाट आईफोन–११, १२ र १३ गरी तीन वटा मोबाइल लुटेर लगेका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनकराज भट्टराईले घटनाको पुष्टि गर्दै लुटपाटमा संलग्न रहेका दुई जना पूर्वप्रहरीलाई नियन्त्रणमा लिइएको बताए।  पक्राउ पर्नेमा एक जना प्रहरीका पूर्वअसई बालसुन्दर सापकाेटा र अर्का पूर्वहवल्दार अर्जुन कार्की छन्।

घटनाका सम्बन्धमा उजुरी परेपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा उनीहरूलाई आइतबार राति पक्राउ गरिएको उनले बताए। उनीहरूलाई महानगरीय प्रहरी वृत नयाँबानेश्वरमा राखेर थप अनुसन्धान तथा कारबाहीकाे तयारी भइरहेकाे छ ।

उनले पर्दाफाससँग भने, ‘पीडितले तीन जना रहेको बताएका छन्। उनले दुई जनाभित्र आएको र एक जना बाहिर बसेको बताएका छन्। तेस्रो व्यक्तिका विषयमा खोजी र अनुसन्धान भइरहेको छ।’ उनले अदालतमा मुद्दा दर्ता प्रक्रियामा रहेकाले केही समयमै प्रहरीले घटना सार्वजनिक गर्ने बताए।

भट्टराईका अनुसार खोज तथा खानतलास गर्ने क्रममा उनीहरूको घरकोठाबाट लुटपाट गरिएका तीन वटै माेबाइल फाेनका साथै सुन र सक्कली जस्तै देखिने पेस्ताेल र गाेली बरामद भएकाे छ।

प्रहरीले अनुसन्धानका क्रममा गत बुधबार राति ७ः५५ बजे तीन वटा मोटरसाइकलमा सवार पाँच जना पुरुषहरूको अपरिचित समूहले ठमेलस्थित ओरिन्टेल मनि एक्सचेन्जका सञ्चालक प्रकाश श्रेष्ठलाई अपहरण गरी ३० लाख नगद लुटपाट गरेको घटनामा समेत उनीहरूको संलग्नता रहेको आशंका गरिएको छ।

गत बुधबार राति काठमाडौं महानगरपालिका–१५ डल्लु पुल र टंकेश्वर पुलको बीचमा रहेको सो मनि एक्सचेन्जका सञ्चालक श्रेष्ठलाई अपहरण गरेर उक्त समूहले ठमेल म्हेपी हुँदै डल्लु लगेर श्रेष्ठसँग रहेको तीस लाख रुपैयाँ लुटपाट गरेको थियो। लुटपाटपछि उक्त समूह फरार छ।

उनीहरूले प्रयोग गरेका तीनमध्ये एउटा पल्सर २२० मोटरसाइकल बा ७९ प ८३२७ नम्बरको रहेको खुलेको छ। अन्य दुईमध्ये एउटा पल्सर २२० र अर्को नीलो जिक्सर मोटरसाइकल भन्ने मात्र खुलेको छ र ती मोटसाइकलको नम्बर भने खुलेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर