काठमाडौं आइपुगे चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु काठमाडाैं आइपुगेका छन् । उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली विमानस्थलमा पुगेको थियो।

सीपीसीको २० औं जनकंग्रेसअघि ली नेपाल भ्रमणमा आएका हुन् । अक्टोबरमा हुने तय भएको जनकंग्रेसले नयाँ नेतृत्व छनोट गर्ने छ । अध्यक्ष ली पनि जिम्मेवारबाट बाहिरिने सम्भावना छ ।

उनी रुस, मंगोलिया हुँदै नेपाल आएका हुन् र नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम छ । मन्त्रीस्तरका ६ नेतासमेत रहेको लीको टोली विशेष विमानमा नेपाल आएका सरकारी अधिकारीले जनाएका छन् । ली सीपीसीको तेस्रो वरीयतामा पर्छन् ।

अध्यक्ष लीले सोमबार नै सभामुख अग्निप्रसाद सापकोटासँग नयाँ बानेश्वरस्थित संसद् भवनमा द्विपक्षीय वार्ता गर्नेछन् ।

द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकंग्रेसबीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदानप्रदानका सम्बन्धमा सम्झौता हुने छ । सभामुख सापकोटाले सोमबार नै लीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् ।

अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि अध्यक्ष लीको नयाँ बानेश्वरमै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

अध्यक्ष लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ । ती दुवै भेटवार्ता बानेश्वरको संसद् भवनमै हुनेछन् । ली बिहीबार नेपालबाट फर्कने कार्यक्रम छ । नेपालबाट उनी दक्षिण कोरिया जाने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *