माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज बिहान उनीहरूबीच शिष्टाचार भेटवार्ता सुरु भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ ।

भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता थियो ।

यसअघि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष लीले भेटवार्ता गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्सु सोमबार काठमाडौं आइपुगेका हुन् । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन् । नेता लीले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नेछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि अध्यक्ष लीको आजै भेटवार्ता हुनेछ ।

अध्यक्ष लीले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

चिनियाँ प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर