बन्द सीमानाका खोल्न सहजीकरण गर्ने चिनियाँ नेता लीको आश्वासन

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चाडबाडका समयमा बन्द रहेका तातोपानी, केरुङ, कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई आग्रह गरेका छन् ।

संघीय संसद् भवन नयाँबानेश्वरमा मंगलबार बिहान भएको भेटमा अध्यक्ष तिमिल्सिनाले विगतमा भएको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुङ–काठमाडौं) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजना पुनःसञ्चालनका लागि आग्रह गरेकाे संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

सो अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशका बीचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा भएको थियो ।

आगामी दिनमा आपसीहितका विषयमा काम गर्ने, संसदीय सहयोग आदानप्रदान गर्ने र उच्चस्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षबीच भएका समझदारीको स्मरण गर्दै दुई देशको सम्बन्ध सदियौंदेखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको बताएका थिए ।

उनले चीन नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेकाले नेपालको समृद्धिमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका थिए । यस्तै उनले ‘एक चीन नीति’को नेपाल पक्षमा रहेको र सुरक्षा चासोमा नेपाल प्रतिबद्ध रहेको जनाए ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीले अध्यक्ष तिमिल्सिनाले उठाएका विषयको समर्थन गर्दै सीमानाकामा देखिएको अवरोध खोल्नेलगायत अन्य काममा सहजीकरण गरिने आश्वासन दिएका थिए ।

दुईपक्षीय वार्ता करिब एक घण्टा चलेको जानकारी दिँदै संघीय संसद् सचिवालयका प्रवक्ता डा. पाण्डेले त्यस अवसरमा आपसी छलफलका क्रममा नेपालको संसद्को विकास तथा आपसी सहयोग आदानप्रदान सम्बन्धमा निरन्तर अघि बढ्ने कुरामा दुवैतर्फबाट प्रतिबद्धता व्यक्त भएको बताए । सचिवालयले चिनियाँ प्रतिनिधि मण्डलको नेपाल भ्रमण उपलब्धिमूलक र सुखद् रहने अपेक्षासमेत गरेको थियो ।

दुईपक्षीय वार्तामा राष्ट्रिय सभाको प्रतिनिधिमण्डलको तर्फबाट अध्यक्ष तिमिल्सिनाले नेतृत्व गरेका थिए भने चिनियाँ पक्षबाट राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

नेपालको तर्फबाट १८ सदस्यीय प्रतिनिधिमण्डलमा सांसदहरू देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, रमेशजंग रायमाझी, डा. वेदुराम भुसाल, प्रमिला कुमारी, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, डा. विमला राई पौड्याल, खिमलाल देवकोटा, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँल, परराष्ट्र सचिवलगायतका पदाधिकारी सहभागी थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *