ठूला परियोजनामा लगानी गर्न चिनियाँ पक्षलाई प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि चान्सु नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार संघीय संसद् भवन नयाँबानेश्वरमा भएको भेटवार्तामा अध्यक्ष दाहालले नेपालको विकास र समृद्धिका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष दाहालले बीआरआईलगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिएको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा उनले नेपालमा दशैं, तिहारलगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न आग्रह गरेका थिए । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरे ।

दुई पार्टीबीचको सम्बन्ध कूटनीतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको अध्यक्ष दाहालको भनाइ थियो । ‘हामी चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं । राष्ट्रपति सी जिनपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्,’ दाहालले भने ।

उनले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको बताए ।

चिनियाँ पक्षको तर्फबाट अध्यक्ष लीले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको सधैं सम्मान गर्ने बताए । उनले नेपाल ‘एक चीन नीति’ र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकामा धन्यवाद व्यक्त गरे ।

उनले नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहेको बताउँदै नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न र सीमानाका खुलाउनका लागि पहल गर्ने बताए ।

भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरू राम कार्की र रमेश मल्लको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर