भारतीय प्रधानमन्त्री मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिलाई भेट्दै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्ने भएका छन् ।

प्रधानमन्त्री मोदीले उज्वेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ । ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले बताएको छ । युक्रेन संकटपछि रुसी राष्ट्रपति र मोदीबीचको यो पहिलो भेटवार्ता हुन लागेको पनि स्रोतले थप जानकारी दिएको छ ।

संकट सुरु भएपछि दुई नेताले फोनवार्ता भने गरेका थिए । सेप्टेम्बर १४ बाट उज्वेकिस्तानको समरकन्दमा सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले अन्य द्विपक्षीय भेटघाट पनि गर्ने समाचारमा जनाइएको छ ।

रुसी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि एससीओ शिखर सम्मेलनको क्रममा भेट हुने सम्भावना छ । उज्वेकिस्तानका लागि भारतीय राजदूत मनिष प्रभातले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी शिखर सम्मेलनमा सहभागी हुने र धेरै नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने बताएका छन् ।

‘कोभिड महामारीका कारण दुई वर्षपछि एससीओ सदस्य राष्ट्रका नेताहरूको बैठक बस्दैछ । केही द्विपक्षीय बैठकहरू एससीओको क्रममा हुनेछन् । तर, बैठकहरूको कार्यक्रम समयमै टुंङगो लगाइनेछ,’ राजदूत प्रभातले एएनआईलाई एक विशेष अन्तर्वार्तामा भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर