नेपालमा विश्वका ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी, भारतबाट सबैभन्दा धेरै

नेपालमा संसारका विभिन्न ५५ देशका दुई खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३ दशमलव नौ प्रतिशत, सञ्चितिको ३१ दशमलव छ प्रतिशत र कर्जाको अंश १४ दशमलव पाँच प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३ दशमलव सात प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

आव २०७७/०७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कूल एक सय ९७ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/०७८’ तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ ।

२०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । त्यसमा भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब रुपैयाँ, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ, सिङ्गापुरबाट१५ अर्ब ४८ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६० दशमलव पाँच प्रतिशत औद्योगिक क्षेत्रमा र ३९ दशमलव चार प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० दशमलव आठ प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव पाँच प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ दशमलव नौ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४ दशमलव नौ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४ दशमलव सात प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *