चितवनमा हतियार देखाएर मनि ट्रान्सफरबाट दुई लाख रुपैयाँ लुटपाट, २४ घण्टाभित्रै पक्राउ

चितवनमा मनि ट्रान्सफरबाट दुई लाख रुपैयाँभन्दा बढी रकम लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन्। नवलपरासी बर्दघाट सुस्ता पूर्व घर भई चितवनको भरतपुर महानगरपालिका–१६ मा डेरा गरी बस्ने ४२ वर्षीय मीनमान सुनारलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

उनले आइतबार दिउँसो १ः१५ बजे भरतपुर महानगरपालिका–४ फनपार्क नजिक पूर्णशंकर गौतमको घरमा सञ्चालनमा रहेको नारायणी मनि ट्रान्सफरमा छिरेर धारिलो हतियार देखाई काउन्टरमा बसिररहेकी मनि ट्रान्सफरकी कर्मचारीलाई मारिदिने धम्की दिँदै नगद २ लाख ४ हजार २ सय ५० रुपैयाँ लुटेर फरार भएका थिए। घटनाबारे प्रहरीलाई सूचना प्राप्त भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

उक्त प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा घटनास्थल तथा घटनास्थल वरपर बुझिएका मानिस, सीसीटीभी फुटेज अध्ययनलगायत विभिन्न तवरबाट अनुसन्धान गर्दै जाँदा उक्त घटना बा.प्र. ०३–००१ ह १२६३ नम्बरको अटो चालकसमेत रहेका सुनारले घटाएको खुलेको हो।

उनलाई सोमबार दिउँसो १ः३० बजे भरतपुर–१० चौबीसकोठीमा उनले चलाउँदै आएको अटोमा नै बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई प्रारम्भिक सोधपुछ गर्दा उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको र उनको शरीर खानतलासी गर्दा उनको साथमा रहेको सानो ब्यागबाट लुटेको रकम नगद रकम १३ हजार ६ सय ५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै उनको कोठा खानतलासी गर्दा थप १ लाख ६७ हजार रुपैयाँ, धारिलो हतियार दाउ दुई थान, उनको झोला र नागरिकता पनि बरामद भएको छ।

घटनाको समयमा उनले लगाएको कपडा भरतपुर–२६ सिसैस्थित खेतमा पानीको घोलभित्र लुकाइछिपाइ राखेको अवस्थामा कट्टु एक थान टी–शर्ट एक थान तथा जुत्ता एक जोर, कालो रङको मास्क एक थान, पञ्जा एक थान र बोरा नजिक कालो रङको हेल्मेट एक थान पनि बरामद भएको छ।

पक्राउ परेका उनीमाथि डाँका चोरी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर