सैनिक अनुशासन नाघ्दा जर्नेललाई प्रेमिकासहित जेल

कृषि विकास बैंक न्यूरोड शाखाको चार करोड रकम घोटाला प्रकरणमा नेपाली सेनाका पूर्वसहायक रथी रमेशराज विष्टलाई ४ वर्ष र उनकी प्रेमिका बैंककी कर्मचारी दीपिका रेग्मीलाई आठ वर्षको कैद सजाय सुनाइएको छ। त्यसअघि न्यायाधीशहरू शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरूलाई भदौ ७ गते दोषी ठहर गरेको थियो । विशेष अदालतले सोमबार उनीहरूलाई उक्त सजाय सुनाएको हो ।

उनीहरूलाई जरिवानासमेत सुनाइएको छ। टेलर सहायक रेग्मीलाई ३ करोड ९२ लाख ४४ हजार ४४७ रुपैयाँ जरिवाना सुनाइएको छ। पूर्वजर्नेल विष्टलाई भने ३१ लाख ६८ हजार ६४४ रुपैयाँ जरिवाना तोकिएको हो।

बैंकिङ कसुर मुद्दामा उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले २०७६ फागुन ७ गते पूर्वजर्नेल विष्ट, टेलर सहायक रेग्मीसँगै दुर्गा ज्वेलरीका सञ्चालक प्रकाश घतानीलाई दोषी ठहर गरेको थियो। पूर्वजर्नेल विष्टलाई ३१ लाख ६८ हजार ८६४ रुपैयाँ बिगो, घतानीलाई २७ लाख २१ हजार बिगो र रेग्मीलाई ३ करोड ६५ लाख २३ हजार ७४७ रुपैयाँ बिगो हुने फैसला सुनाइसकेको थियो। अन्य प्रतिवादीहरुलाई भने उच्च अदालत पाटनले सफाइ दिएको थियो।

पदीय विश्वासको दुरुपयोग गरी नियोजित रुपमा कसुर गरेको भन्दै रेग्मीलाई ५ वर्ष कैद, बिगो र सो बमोजिमको जरिवाना हुने, पूर्वजर्नेलले रेग्मीले हिनामिना गरेको रकम लुकाउन सहयोग गरेको भन्दै बिगोसँगै २ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो। अर्का प्रतिवादीलाई पनि बिगो बमोजिमको जरिवाना र २ वर्ष कैद हुने सजाय निर्धारण गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा विष्ट र रेग्मीसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। विष्ट र रेग्मीसहित तत्कालीन शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाशप्राप्त सलिल रेग्मी, बैंकको ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे र दुर्गा ज्वेलरीका संचालक घतानी गरी ८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

उनीहरूले आपसी मिलेमतोमा गैरकानुनी रुपमा बैंकबाट ४ करोड २४ लाख १३ हजार ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर हिनामिना गरेको आरोपसहित मुद्दा दर्ता भएको थियो। राष्ट्र बैंकको निर्देशिका विपरीत सबै व्यक्तिको मिलेमतोमा चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबन्डा गरिएको दाबी गरिएको थियो।

यो प्रकरणमा बाँकी ६ जनालाई सफाइ दिँदै विशेष अदालतले भने पूर्वजर्नेल विष्ट र टेलर सहायक रेग्मीलाई मात्रै दोषी ठहर गरेको थियो। रकम हिनामिनाको अनुसन्धानका टेलर सहायक रेग्मीले ३३ लाख रुपैयाँ पूर्वजर्नेल विष्टको खातामा हालेको भेटिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर