नेपाल भारतबीच ग्याँस पाइपलाइन निर्माणलाई तीव्र पार्ने सहमति

नेपाल र भारतबीच सीमापार एलपीजी ग्याँस पाइपलाइन निर्माण कार्यलाई तीव्र बनाउने विषयमा सहमति भएको छ । दिल्लीमा भएको नेपाल र भारत परराष्ट्र सचिवको बैठकमा भारतको मोतिहारीबाट चितवनसम्म ग्याँस पाइपलाइन निर्माण कार्यलाई तीव्र बनाउने विषयमा सहमति भएको हो । 

भारतकाे २ दिने भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी  विनयमोहन क्वात्राबीच भएको बैठकमा सहमति भएको हो । 

त्यसैगरी हाल सञ्चालनमा रहेको बिहारको मोतिहारीबाट अमलेखगंजसम्म रहेको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने कार्यलाई तीव्र पार्ने सहमति भएको छ । यो दक्षिण एशियाको पहिलो सीमापार पाइपलाइन हो । 

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनस्तरको सम्पर्कलाई झनै सुद‌ृढ बनाउनका लागि रामायण सर्किटको निर्माण प्रगतिलाई तीव्र पार्ने विषयमा समेत सहमति भएको छ । त्यसैगरी जयनगर कुर्था रेललाई विजलपुरासम्म सञ्चालन गर्ने सहमति भएकाे छ । 

बैठकमा भारतसँगको प्रोटोकलसहितका पारवहन सन्धिलाई चाँडो टुङ्ग्याउने विषयमा समेत सहमति भएको छ । 

बैठकमा रसायनीक मलको आपूर्ति, गहुँ, चिनी, धान र चामलमाथि रहेको प्रतिबन्धमा नेपाललाई छुट दिने विषयमा समेत छलफल भएको भारतस्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘उर्जा, प्रशारणलाइनको निर्माण, रेल कनेक्टिभिटी, एकीकृत जाँच चौकीको निर्माण, मोटरेबल पुलको निर्माण र अन्य महत्वपूर्ण निर्माणको विषयमा भएको प्रगतिमा सन्तुष्टी व्यक्त गरिएको छ,’ नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नेपालबाट भारततर्फ विजुली निकासीमा भएको सहमतिको पनि दुवै देशले प्रशंसा गरेका छन् । त्यसैगरी उर्जा क्षेत्रमा दुवै देशबीच भएको प्रगति प्रति खुसी व्यक्त गरिएको छ । त्यसैगरी प्रोटोकल सहित पारवहन सन्धिलाई चाँडै निष्कर्षमा पुर्‍याउन सहमति भएको छ । 

‘विदेश सचिवहरुले भारत नेपालबीच आर्थिक तथा व्यापारिक सहकार्य, कनेक्टिभिटीलाई सुदृढीकरण, विकास सहकार्य, व्यापार, संस्कृति तथा जनस्तरको सम्बन्धसहितको द्वीपक्षीय सम्बन्धको सबै पक्षको समीक्षा गरेका छन्’ भारतले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *