चुनावी कमाण्डर बने डीआईजी कुँवर, एआईजी थापाको एकेडेमीमा सरुवा

नेपाल प्रहरीका तर्फबाट आसन्न आमनिर्वाचनकाे सुरक्षा नेतृत्व डीआईजी वसन्तबहादुर कुँवरलाई दिइएकाे छ ।

सरकारले आमनिर्वाचनको सम्मुखमा चुनावी कमाण्डर परिवर्तन गरेको हाे। सोमबार मन्त्रिपरिषद्बाट निर्णय गरेर सरकारले केन्द्रीय निर्वाचन सेल प्रमुख रहेका एआईजी सहकुलबहादुर थापाको सरुवा गरेको हो।

थापालाई कार्य विभागबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान (एकेडेमी) महाराजगञ्जमा सरुवा गरिएको हो। एकेडेमीमा कार्यरत रहेका एआईजी मुकुन्दराज आचार्य केही दिनअघि मात्रै उमेर हदका कारण अवकाशमा गएपछि एकेडेमीमा एआईजी पद रिक्त थियो ।

कार्य विभागको प्रमुख रहेका थापाकै नेतृत्वमा मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षा तयारी भइरहेको थियो। तर, काम सुरु नहुँदै सरकारले उनको सरुवा गरेको हो।

उच्च प्रहरी स्राेतका अनुसार एआईजी थापाकाे कार्यसम्पादन र कमाण्डमा देशभरका युनिटबाट गुनासाे आएपछि उनकाे सरुवा भएकाे हाे । यस्तै उनकाे बाह्य सम्पर्क र नेकपा एमालेसँगकाे निकटताका कारणसमेत उनलाई निर्वाचनका सम्पूर्ण जिम्मेवारीबाट टाढा राखिएकाे हाे ।

थापाको सरुवा भएसँगै निर्वाचन सेलको कमाण्ड गर्ने जिम्मा कार्य विभागका डीआईजी  कुँवरले पाएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख रहेकै बेला एसएसपीबाट पहिलो नम्बरमा कुँवरलाई डीआईजीमा बढुवा गरेर कार्य विभागमा पदस्थापन गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *