विदेशमा रहेकै बेला सम्पत्ति शुद्धीकरणबाट महानिर्देशक भट्टराईको जिम्मेवारी खोसियो

सरकारले देशबाहिर रहेकै बेला सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईको जिम्मेवारी खोसेको छ। सिङ्गापुरमा गैरकानूनी आम्दानी र स्रोतमाथि नियन्त्रण गर्न भइरहेका प्रयासबारे आयोजित छलफलमा भाग लिन गएका उनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको हो।

उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत तारानाथ अधिकारीलाई जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभागको महानिर्देशकमा अधिकारीलाई पठाउने निर्णय गरेका हुन्। यही ५ भदौमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो।

अधिकारी यसअघि पर्यटन विभागमा महानिर्देशक भएका हुन् भने त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिब दुई वर्ष काम गरेका थिए। उनले अख्यिारका प्रवक्ताका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।

सिङ्गापुरमा आयोजित छलफलमा राज्यको तर्फबाट भाग लिइरहेका भट्टराईलाई सरुवा गर्ने निर्णयले गलत सन्देश जाने विश्लेषण गरिएको छ।

नेपालले आगामी अक्टोबरसम्म सम्पत्ति शुद्धीकरणमा तोकिएको मापदण्ड पूरा नगरे अन्तर्राष्ट्रिय कारोबारबाट अलग्गिने जोखिम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *