भारतीय गायक मुसेवाला हत्याकाण्डका आरोपी नेपालमा पक्राउ, भारतमा सार्वजनिक

झापाको कचनकवलमा बच्चा चोर्न आएको आरोपमा पक्राउ परेका तीन जना भारतीय नागरिक पन्जाबी चर्चित गायक सिद्धू मुसेवाला हत्याकाण्डमा संलग्न फरार आरोपी रहेको खुलेको छ।

गत भदौ २३ गते दिउँसो १२ बजे गाउँलेको सहयोगमा सीमा प्रहरी चौकी केचनाले तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो। उनीहरूले प्रहरीलाई अर्को नाम हेमन्त, सुमित र राजेन्द्र लेखाएका थिए। उनीहरूसँग ती नामको नक्कली आधार कार्ड पनि थियो।
तर, तिनीहरूको वास्तविक नाम दीपक पण्डित, राजेन्द्र उर्फ जोकर र दीपक मुण्डीका रहेको र उनीहरू गायक मुसेवाला हत्याकाण्डका फरार सुटर रहेको खुलेको छ।

नेपाल–भारतको १२२ सीमा पिलर नजिकै भारतीय गाउँलेहरूले बच्चा चोर्न आएको आशंकामा उनीहरूलाई खेदाउँदै नेपालतर्फ छिराएका थिए। त्यसपछि कचनकवल गाउँपालिका–४ स्थित भटियागाउँका स्थानीयले तीन जनालाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्दै प्रहरीलाई जिम्मा लगाएका थिए।

गाउँलेले कारबाहीको माग गर्दै सीमा प्रहरी चौकी घेराउ गर्दै नाराबाजी समेत गरेका थिए। घटना भए लगत्तै भारतीय सुरक्षाकर्मी र पत्रकारको टोली पनि घटनास्थल आइपुगेका थिए। घटनास्थल तनावग्रस्त बनेपछि सीमा प्रहरी चौकीले तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको थियो।

झापा प्रहरीबाट छुटेर भारतीय भूमि टेक्नासाथ भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरी पन्जाबतर्फ लगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। डीजीपी पञ्जाब पुलिसको आधिकारिक ट्वीटर पेजमा तीनै जना आरोपीको फोटो र नामसहितको विवरण दिएर सो घटना बारेमा उल्लेख गरिएपछि घटनाको वास्तविकता खुलेको हो।

गत जेठ १५ गते साँझ पन्जाबको मनसा जिल्लास्थित जवाहरेक गाउँमा एएन–९४ रुसी एसल्ट राइफल प्रहार गरी गायक मुसेवालाको बीभत्स हत्या गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *