मोबाइल सेटको गैरकानूनी आयात, बिक्री र प्रयोग रोक्न एमडीएमएस प्रणाली

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडीएमएस प्रणाली सुरु गरेको छ ।

प्राधिकरणले मोबाइल सेटको गैरकानूनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सो प्रणालीको सुरुआत गरे ।

प्राधिकरणले एमडीएमएस प्रणाली सुरु गरेसँगै विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेट स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्थासमेत गरेको छ । प्राधिकरणले आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली मा दर्ता भए/नभएको यकिन गरी मात्र खरिद गर्न अनुरोध गरेको छ ।

सोही अवसरमा मन्त्री कार्कीले एमडीएमएस प्रणालीले अवैध रूपमा खरिद बिक्रीको कार्यलाई रोक्ने र मुलुकको अर्थतन्त्र र मोबाइलको व्यापारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । वर्तमान सरकार नीति क्षेत्रलाई प्रोत्साहित गर्न चाहेको र निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउने नेपालीको अभिलाषा पूरा हुने उनको भनाइ थियो ।

सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले एमडीएमएस प्रणाली सुरु गरेसँगै आउने विविध समस्यालाई पनि सँगै समाधान गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइल आयातकर्ता/विक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न अपिल गरे ।

सामसङ मोबाइलको व्यापार गर्दै आएको आईएमस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले एमडीएमएस प्रणालीले मोबाइल बिक्री वितरण क्षेत्रलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *