नेपाल भारत सीमा बैठक बुधबारबाट, सीमा सुरक्षाको बारेमा छलफल हुने

नेपाल र भारत सीमा सुरक्षा सम्बन्धी ३ दिने बैठक बुधबारबाट काठमाडौंमा सुरु हुने भएको छ ।

बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा सशस्त्र बलका प्रमुखले आ आफ्नो देशको प्रतिनिधमण्डलको नेतृत्व गर्ने छन् । बैठकमा नेपालको नेतृत्व सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र भारतकोतर्फबाट सशस्त्र सीमा सुरक्षा बलका महानिर्देशक सुजोय लाल थाओसेनको सहभागिता रहने छ ।

बैठक सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र तालिम आदानप्रदानमा केन्द्रीत हुने बताइएको छ । प्रत्येक वर्ष आलोपालो बैठकको आयोजना हुने गरेको छ । यसअघि गत असोजमा भारतको नयाँ दिल्लीमा सीमा बैठक आयोजना गरिएको थियो ।

नेपाल–भारत खुला सीमाका कारण व्यवस्थापन र सीमापार अपराध रोकथाम र नियन्त्रण चुनौतीपूर्ण छ । भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किमि लम्बाइमा अन्तर्राष्ट्रिय सीमा कायम रहेकोमा पूर्वी सीमा करिब २ सय ३५.२ किमी, दक्षिणी सीमा करिब १ हजार ३ सय ७०.२४ किमी र पश्चिमी सिमाना करिब २ सय ७० किमी रहेको बताइन्छ ।

दुई देशका नागरिक बिनारोकटोक आवतजावत गर्न सक्ने भए पनि खुला सीमाको कारण आतंकवादी गतिविधिमा संलग्न गिरोहका सदस्य सहजै आवतजावत गर्ने गरेका विगतका थुप्रै तथ्य र प्रमाण छन् । जसबाट एक देशमा अपराध गरेर अर्को देशमा लुक्ने, हातहतियारको अवैध ओसारपसार, आतंकवादी गतिविधि, लागूऔषध, जाली नोटको कारोबार, सुन तस्करी, भन्सार छलीलगायतका दुवै देशका साझा समस्या हुन् ।

नेपाल र भारतबीच सानाठूला गरी करिब ६० वटा नदी/खोला तथा खोल्सीले सिमानाको काम गरेका छन् । जसबाट ६ सय ४० किमि लम्बाईमा नदीको सीमना कायम छ । त्यसमध्ये पूर्वमा मेची नदीले ८० किलोमिटर र पश्चिममा महाकाली नदीले २०० किलोमिटर, नारायणी नदीले २० किलोमिटर, राप्ती नदीले ६ किलोमिटर र अरु बाँकीले २ सय ५९ किलोमिटर बढीमा सीमा छुट्याएको छ ।

पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडी गरी २५ वटा जिल्ला भारतसँग मात्रै जोडिएका छन् । ताप्लेजुङ र दार्चुला नेपालका त्रिदेशीय सीमा जोड्ने जिल्ला हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर