कुलतमा फसेका युवा शक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको दायित्व : आईजीपी सिंह

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले कुलतमा फसेका युवा शक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व भएको बताएका छन् ।

शनिबार आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव कार्यक्रमा बोल्दै महानिरीक्षक सिहंले लागुऔषध दुरुपयोग एक गम्भीर सामाजिक समस्या रहेको र यसैको कारण समाजमा आपराधिक गतिविधि वृद्धि भई व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदायमा समेत प्रतिकूल असर पारिरहेको बताए ।

प्रहरीले लागुऔषध दुर्व्यसन र प्रयोगबाट सिर्जित परिणाम र घटनाक्रमको व्यवस्थापनका लागि लागुऔषधसम्बन्धी जनचेतना जगाउने हेतुले समुदाय–प्रहरी साझेदारीअन्तर्गत विशिष्टिकृत पाठ्यक्रम विकास गरी सक्रियताका साथ विद्यालय र समुदायमा सचेतना कार्यक्रम गरिरहेको समेत उनले उल्लेख गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंह एवम् उक्त केन्द्रकी अध्यक्ष कुशुमलता सिंहले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्त्वपूर्ण योगदान पुर्‍याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्‍याउने केन्द्रकी पूर्वअध्यक्ष सिर्जना थापालाई सम्मानपत्र प्रदान तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी सदस्य जुनु श्रेष्ठ कुसुम अधिकारीलाई प्रशंसापत्र प्रदान गरे ।

प्रहरी महानिरीक्षक सिंहले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज र केन्द्रले आयोजना गर्ने विविध सांगीतिक कार्यक्रममा सहयोग गर्ने नेपाल प्रहरी संगीत विद्यालय महाराजगञ्जलाई प्रशंसापत्र प्रदान गरे । उनले उक्त केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुका साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण, २०७९’ को विमोचनसमेत गरे ।

प्रहरी महानिरीक्षक सिंहले लागूऔषध दुर्व्यसनीको उपचार र पुनर्स्थापना तथा लागूऔषधविरूद्ध सचेतनामार्फत सामाजिक सुधार र सामाजिक सेवामा नेपाल प्रहरी श्रीमती संघद्वारा सञ्चालित यस केन्द्रले स्थापनाकालदेखि नै निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए । २०५४ सालमा स्थापना भई १०१ जना महिलासहित ५ हजार ६९८ जना लागुऔषध सेवनकर्तालाई परामर्श र उपचारद्वारा असल नागरिकमा रूपान्तरण गरी नयाँ जीवन दिन यस केन्द्रले तय गरेको सफल यात्राको निम्ति उनले समस्त केन्द्र परिवारलाई बधाइ दिए ।

समारोहमा केन्द्रकी अध्यक्ष कुशुमलता सिंहले केन्द्रका परामर्शदाताहरूलाई प्रशंसापत्र र नगद पुरस्कारका साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरिन् । अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष सिंहले हरेक दृष्टिकोणबाट चुनौतीपूर्ण बन्दै गएको लागुऔषध दुर्व्यसनीको समस्या समाधान गर्न लागुऔषध प्रयोगकर्ताहरूको उपचार, परामर्श सेवा एवं पुनर्स्थापना कार्यमा केन्द्र दत्तचित्त भई लागेको उल्लेख गरिन् ।

केन्द्रकी सचिव सीता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेको सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरू र नेपाल प्रहरी संगीत विद्यालयका प्रहरी सहायक निरीक्षक रामबहादुर भुजेलले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंह, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, केन्द्रका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर