चोलेन्द्र काममा फर्किने सूचनापछि सर्वोच्चमा सुरक्षा बढाइयो

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नियमित काममा फर्किने सूचनापछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ ।

सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा सुरक्षा व्यवस्था केही कडा पारिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए ।

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिका बहुमत सदस्यले निलम्बित प्रधानन्यायाधीश जबरामाथि महाभियोग प्रस्ताव अघि बढाउने आधार र कारणसहितको प्रतिवेदन शनिबार साँझ सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउँदै गर्दा जबराले सर्वोच्च प्रशासनलाई काममा फर्किने सूचना पठाएका थिए । सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का सांसद महाभियोग प्रस्तावको पक्षमा रहेका छन् भने नेकपा एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले उनीमाथि लागेको अभियोगमाथि थप छानबिन हुनुपर्ने भन्दै फरक मत राखेका छन् ।

जबराले शनिबार साँझ रजिष्ट्राार नारायण पन्थीलाई फोन गरेर आफू काममा फर्किने भन्दै त्यसैअनुसार आवश्यक व्यवस्था गर्न भनेका थिए । पन्थीले त्यसलगत्तै सर्वोच्चका न्यायाधीशसहित उच्च अधिकारीलाई जानकारी गराएका थिए ।

जबराले संसद् समाप्त भएसँगै महाभियोग प्रस्ताव पनि समाप्त भएको तर्क गरेका छन् जबकि अन्य न्यायाधीश तथा नेपाल बारले भने निलम्बन फुकुवा नभएको बताउँदै आएका छन् ।

निलम्बन फुकुवा नहुँदै जबरा सर्वोच्च फर्किन लागेको हल्लापछि कानून व्यवसायीहरूले उनलाई गेटमा नै रोक्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर