चोलेन्द्रले भने- सरकारले निवास गेटमै तालाबन्दी गरिदियो

आजदेखि नियमित काममा फर्किने तयारी गरेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले आफ्नो निवासकाे गेटमा तालाबन्दी गरिदिएको बताएका छन् ।

उनले आफू बिहान ११ बजे नै सर्वोच्च पुग्नेगरी तयारी गरेको तर निवास गेटमै तालाबन्दी गरेर प्रहरी परिचालन गरिएपछि बाहिर निस्कन नपाएको बताएका छन् ।

संसद्को कार्यकाल सकिएसँगै आफूविरुद्धको महाभियोग निस्तेज भइसकेको दाबी गर्दै जबराले आइतबारदेखि नियमित काममा फर्किने सूचना शनिबार सर्वोच्च प्रशासनलाई पठाएका थिए । उक्त विषय बाहिर आएपछि कानून व्यवसायीहरूले उनलाई मूल गेटमै रोक्ने तयारी गरेका छन् । जबरा काममा फर्किने सूचनापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा तैनाथी पनि बढाइएको छ ।

यसअघि आइतबार बिहान नेपाल बार एसोसिएशनले बैठकमार्फत जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने निर्णय गरेको थियो ।

महाभियोग सिफारिस समितिले शनिबार साँझ सभामुख अग्निप्रसाद सापकोटालाई जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारणसहितको प्रतिवेदन बुझाएको छ ।

निलम्बन फुकुवा हुन बाँकी रहेको भन्दै कानून व्यवसायीले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन लागेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *