दैलेख २ मा पाका नेता बिनोदकुमार शाहको ‘अग्निपरीक्षा’

प्रमुख राजनीतिक दलहरूले उम्मेदवार बन्नका लागि विभिन्न नेताहरूको नाम सिफारिस गरेपछि दैलेख २ मा चुनावी गतिविधि सुरु भएको छ ।

सबै राजनीतिक दलले आ–आफ्नो पार्टीका सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेपछि जिल्लामा चुनावी सरगर्मी सुरु भएको हो । उम्मेदवारी निश्चित भएपछि चुनावी गतिविधिले तीव्रता पाउने भए पनि राजनीतिक वृत्तमा सम्भावित उम्मेदवार तथा उनीहरूले चुनावमा पार्ने प्रभावको बारेमा लेखाजोखा सुरु भएको छ । यस्तोमा छलफलको विषयमा ‘कसले टिकट पाउँदा जिल्ला राजनीतिमा कस्तो समीकरण बन्ला’सहितको विषयमा चर्चा हुने गरेको छ ।

पहिले भेरी अञ्चल र अहिले कर्णाली प्रदेशअन्तर्गत पर्ने दैलेखको प्रतिनिधि सभा २ राजनीतिक रूपमा सधैं चर्चामा भइरहने क्षेत्र हो । दैलेख २ संसदीय निर्वाचन क्षेत्रमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिका समावेश गरिएको छ।

कुनै समय दैलेख नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को प्रभाव क्षेत्रको रूपमा रहेको थियो । तर, बिनोदकुमार शाहको नेतृत्वमा नेमकिपाका नेताहरू एमालेमा प्रवेश गरेपछि एमालेको वर्चश्व रहँदै आएको छ । अहिले भने यस निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसबाहेक अन्य राजनीतिक दलको खासै प्रभाव देखिँदैन ।

पछिल्लो तीनवटा निर्वाचनमा लगातार विजयी हुँदै आएको नेकपा एमाले छ भने कांग्रेसले यस निर्वाचन क्षेत्रमा दुईपटक जित हासिल गरेको थियो ।

२०४८ सालको चुनावमा कांग्रेसका रंगबहादुर शाहीले जितेका थिए । २०५१ सालमा भएको आमनिर्वाचनमा एमाले र नेमकिपाबीच गठबन्धन भएको थियो ।

त्यस समयमा नेमकिपाका उम्मेदवार बिनोदकुमार शाह चुनावमा विजयी भएका थिए । चुनाव जितेका शाह पछि एमालेमा प्रवेश गरेपछि पुनः चुनाव भयो र शाह नै विजयी भए । ०५६ सालको आमचुनावमा कांग्रेसका शिवराज जोशी निर्वाचित भएका थिए । २०६४ सालमा भएको पहिलो संविधान सभा चुनावमा देशभर एमालेले कमजोर प्रदर्शन गर्दा पनि दैलेखमा भने चुनाव जित्न सफल भएको थियो ।

२०६४ सालमा राजबहादुर बुढा, २०७० सालमा एमालेकै लक्ष्मी पोखरेल सांसदमा निर्वाचन थिए । २०७४ मा पुन बुढा निर्वाचित भए । प्रदेश सभाका दुई क्षेत्रमा दुवैमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

स्थानीय तह चुनावको वडाध्यक्षहरूको मतमा नेकपा एमाले सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा रहेको छ । एमालेले २१ हजार ७६ मत प्राप्त गर्दा कांग्रेसले १९ हजार ७ सय ८६ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले ५ हजार ७ सय ५५ , नेकपा एकीकृत समाजवादी ८ सय ३० र राप्रपाले ३ सय २१ मत प्राप्त गरेका छन् ।

दुल्लु नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो । त्यसैगरी भैरवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस, चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयर र उप मेयर दुवै कांग्रेसले जितेको थियो । ठाँटीकाँध गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जितेको छ भने आठबीस नगरपालिकाको मेयर उपमेययर दुवै एमालेले जितेको छ । सबै स्थानीय तहमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।

एमालेले प्रतिनिधि सभा उम्मेदवार बनाउन ५ जनाको नाम सिफारिस गरेको छ । जसमा पूर्वसांसद बिनोदकुमार शाह, निवर्तमान सांसद राजबहादुर बुढा, पूर्वसांसद लक्ष्मी पोखरेल, कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही र एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजाल रहेका छन् । शाह एमालेको कर्णाली प्रदेशका अध्यक्ष हुन् । शाह जनस्तरमा भिजेका नेता हुन् र लामो समयदेखि त्यही निर्वाचन क्षेत्रमा सक्रिय रहेका छन् ।

‘सत्ता गठबन्धन हुँदा एमाले करिब ३ हजार मतले पछि रहेको छ । त्यस्तो अवस्थामा स्थानीय स्तरमा राम्रोसँग भिजेको नेतालाई टिकट दिने हो भने चुनाव जित्न सकिन्छ,’ एमालेका एक जिल्ला नेताले भने, ‘कति नेताको केन्द्रमा सिधै पहुँच होला तर त्यसले तल्लो तहको प्रतिनिधित्व गर्दैन । पार्टी मतको आधारमा पछि परेको अवस्थामा भोट हान्ने व्यक्ति छान्न आवश्यक हुन्छ ।’

शाह लामो समय स्थानीय स्तरमै बसेर काम गरेका नेता हुन् । जिल्लाबाट राजनीति सुरु गरे पनि विष्णु रिजाल लामो समय काठमाडौंलाई केन्द्र बनाएर राजनीति गरेका नेता हुन् । बुढामाथि दुईपटक सांसद हुँदा पनि खासै काम गर्न नसकेको आरोप छ ।

रिजालजस्तो लामो समय माधवकुमार नेपाल निकट रहेका बुढालाई केन्द्रीय नेतृत्वले पनि खासै रुचाएको छैन । २०७० सालमा प्रतिनिधि सभा चुनावमा पोखरेलले पनि प्रभावकारी भूमिका खेल्न नसकेको चर्चा हुने गरेको छ ।

प्रतिक्रिया

2 thoughts on “दैलेख २ मा पाका नेता बिनोदकुमार शाहको ‘अग्निपरीक्षा’

  1. बिनाेद कुमार शाहालाईनै दिनुपर्छ यतिखेर नभय चुनाब हारिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *