घुससहित पक्राउ परेका उपसचिव नेपाल र बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपालले ६ लाख रुपैयाँ घुस र साढे १६ लाख रुपैयाँ सापटी लिएर भ्रष्टाचार गरेको ठहरसहित आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । यस्तै उनलाई सापटी दिने बीबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिभक्त श्रेष्ठविरुद्ध सापटी दिने मतियारको अभियोगमा मुद्दा दर्ता भएको छ ।

उपसचिव नेपाल गत साउन १७ गते प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति पत्र उपलब्ध गराइदिएबापत सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको आरोपमा सो रकमसहित पक्राउ परेका थिए । काठमाडौं महानगरपालिका–१ मनकामना मार्गस्थित होटल अरन्या कम्पाउण्डबाट पक्राउ परेका उनको गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको थियो ।

अनुसन्धानको क्रममा उपसचिव नेपालले सेवाग्राहीबाट घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध ६ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को (ङ) बमोजिम कैद सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै उपसचिव नेपालले बीबी एयरवेज प्रालिको इजाजत नवीकरणसम्बन्धी कार्यका लागि एयरवेजका सीईओ श्रेष्ठसँग १६ लाख ५० हजार रुपैयाँ सापटी लिएर भ्रष्टाचारजन्य कार्य गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा छ को उपदफा (ज्ञ) अनुसार कैद सजाय र १६ लाख ५० हजार रुपैयाँ जफतको मागदाबी गरिएको छ ।

साथै बीबी एयरवेज प्रालिका सीईओ श्रेष्ठले एयरवेजको इजाजत नवीकरण सम्बन्धी कार्य गरेका उपसचिव नेपाललाई १६ लाख ५० हजार रुपैयाँ सापटी दिएर मतियारको भूमिका निर्वाह गरेकाले श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा छ को उपदफा (ज्ञ) अनुसारको सजाय मागदाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर