टुकुचा खोला मिचेर बनाइएका संरचना नभत्काउन उच्च अदालतको आदेश

उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाइएका संरचना नभत्काउन आदेश जारी गरेको छ ।

प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । उसले हालसम्म जयनेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । अदालतले असोज ५ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रक्रियाबमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्रसमेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुवै पक्षलाई छलफलमा बोलाएको उच्च अदालत पाटन स्रोतले जनाएको छ ।

निवेदकहरूले काठमाडौं महानगरपालिका–७ को कित्ता नम्बर ३०३८ र ३०३९ को १० आना बढी जग्गा २०५३ सालमा किनेर त्यसमा घर बनाउन महानगरबाटै भवन निर्माणको इजाजत लिएको साथै कित्ता नम्बर ७ को ९ आना बढी जग्गामा भएको घरसमेत २०६८ सालमा किनेर भोग चलन गर्दै आएको देखिएको अदालतले जनाएको छ।

प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले शुक्रबार रिट दिएका थिए। आफूहरूले किनेर भोगचलन गर्दै आएको जग्गामा बनेका घर महानगरले कानूनी प्रक्रिया नपुर्‍याई क्षतिपूर्ति नदिई हटाउन लागेको रिट निवेदनमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *