हिन्दू धर्मविराेधी अभिव्यक्ति दिएको भन्दै प्रचण्डको विरोध, दर्जनौं स्थानमा प्रदर्शन र पुत्ला दहन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका स्थानीय धर्म–संस्कृतिलाई आघात पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै सर्वत्र विरोध भइरहेको छ ।

यहाँका बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवं मनोभावनामाथि ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको भन्दै देशभरि नै विभिन्न स्थानमा प्रचण्डको पुत्ला दहन गरिएको छ ।

शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर हिन्दू धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनाको उपहास गरेको प्रदर्शनकारीको आरोप छ ।

‘नेपालका सबै जातजातिले ढुङ्गा, माटो, रुख–बिरुवा, सू्र्य–चन्द्रमा आदिलाई पूज्ने गर्दछौँ । अतः प्रचण्डको अभिव्यक्ति यहाँका सबै प्रकृतिपूजक परम्परामाथि निर्मम प्रहार हो,’ एक जना प्रदर्शनकारीले भने ।

यसको विरोधमा वीरगञ्ज, जनकपुर, विराटनगर, सर्लाही, भैरहवा नेपालगञ्जसहित दर्जनौं स्थानमा उनको पुत्ला दहन गरिएको छ ।

वीरगञ्जमा स्थानीय जनसमुदायले हिन्दूविरोधी प्रचण्डलाई कारवाही गरियोस् भन्ने मागसहितको प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए । यहाँ पनि प्रचण्डको पुत्लामा आगो सल्काउँदै उनको अभिव्यक्तिको विरोधमा चर्का नारा लगाइएका थिए ।

जनकपुरमा विरोध प्रदर्शनमा उत्रिएका समुदायले प्रचण्डको अभिव्यक्ति बारम्बार एउटै धर्मप्रति लक्षित रहेको बताउँदै उनी इसाई अथवा मुसलमानबाट परिचालित हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन् ।

विराटनगरमा प्रदर्शनकारीहरूले राजनेताले पटकपटक हिन्दूविरोधी वक्तव्य दिनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको आरोप लगाएका छन् ।

सर्लाहीमा विरोध प्रदर्शन तथा पुत्ला दहन गर्न उत्रिएका युवा जमातले आगामी चुनावमा प्रचण्डको नेतृत्वमा रहेको दललाई समेत यस अभिव्यक्तिले घात पुग्ने बताएका छन् ।

सामाजिक सञ्जालमा समेत प्रचण्डको अभिव्यक्तिको चर्को विरोध भइरहेको छ ।

आफ्नोपनलाई सम्मान गर्नु, पूजा गर्नु चाहिँ अवैज्ञानिक र मार्क्स–लेनिन–माओको विचारको सिनोलाई बोकेर हत्या–हिंसा गर्दै हिँड्नु चाहिँ कुन आधारमा वैज्ञानिक भनी प्रश्न उठाइरहेका छन् । आवश्यकता परे भैँसीको पूजा गर्न तम्तयार हुने भन्दै प्रचण्डका आलोचना भइरहेको छ ।
प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै विश्व हिन्दू परिषदले आइतबार १९ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर