नेपाल-भारत जाेड्ने दार्चुलास्थित महाकाली नदीमा पक्की पुल

दार्चुलामा सोमबार महाकाली नदीमा मोटरेबल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन् । पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल–भारत जोड्ने मोटरेबल पुलले विकासको ढोका खोल्ने बताए ।

भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने बताए । ‘व्यापारिक एवं नागरिकलाई सहज आवागमनका लागि पनि पुल आवश्यक थियो,’ उनले भने, ‘अब यहाँका नागरिकले भारत जान गड्डाचौकी र गौरीफन्टा जानुपर्ने अवस्था रहँदैन ।’

उनले दार्चुलावासीले अब ढुवानीलगायतका समस्याबाट मुक्ति पाउने बताए । पुलले दुई देशबीच धार्मिक, सामाजिक सम्बन्ध मजबुत हुने धारणा राखे । दार्चुलामा पहिलो पटक महाकाली नदीमा पक्की पुल बन्ने खबरले स्थानीय बासिन्दा खुशी भएका छन् । भारत सरकारको सहयोगमा बन्ने पुलको लम्बाइ एक सय १० मिटर हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.