![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
कहाँ हराए नेपाली सेनाका अमल्दार अर्जुनकुमार तामाङ ?
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
ताप्लेजुङको सिदिङवा गाउँपालिका–७ सुरुमखिम घर भएका अर्जुनकुमार तामाङ एक वर्षअघिसम्म नेपाली सेनामा जागिरे थिए। सैनिक आपूर्ति तथा परिवहन गण थापाथली ब्यारेक, काठमाडौंमा अमल्दार रहेका उनी पछिल्लो समय क्रोनिक प्रोस्टेटका बिरामी थिए जसका कारण नियमित ड्युटीमा जान सकिरहेका थिएनन्। उनको उनी कार्यरत गणकै मेडिकल कक्षमा उपचार गरियो।
घरमा अर्जुनकी श्रीमती निमा तामाङ अर्जुनको स्वास्थ्य अवस्थालाई लिएर निकै चिन्तित थिइन्। उनले जागिर छोडेर घर आउन अर्जुनलाई आग्रह गरिन्। जे–जस्तो भए पनि घरमै स्याहारसुसार गरुँला भन्ने सोचेर निमाले अर्जुनलाई घर बोलाएकी थिइन्। अर्जुनले निमाको सल्लाह माने र सोहीअनुसार गत वर्ष असोज ३ गते उनले निमालाई आफ्नो घर ताप्लेजुङ आउने बताए। त्यस दिन बिहान ९ बजेसम्म पनि निमा र अर्जुनबीच फोनमा कुराकानी भएको थियो। तर, बिहानको करिब ११ बजेतिर निमाले अर्जुनलाई पुनः फोन गर्दा उनको फोन उठेन। पटकपटक सम्पर्क गर्दासमेत फोन नउठेपछि निमा थप चिन्तित बनिन्। त्यस दिनयता अर्जुन आजसम्म पनि सम्पर्कविहीन छन्।
![](https://www.pardafas.com/wp-content/uploads/2022/09/Letter.jpg)
गत वर्ष असोज ३ गते अर्जुनले सेनामा जागिर खाएको १३ वर्ष ६ महिना ५ दिन पुगेको थियो। त्यस दिनदेखि सम्पर्कविहीन बनेका अर्जुनको खोजतलासका लागि असोज ५ गते नेपाली सेनाले महानगरीय प्रहरी कार्यालयलाई पत्र पठाएको थियो। तर, प्रहरीले उनको खोजी गरे पनि फेला पार्न भने सकेन। ३० दिनसम्म उनी काममा नफर्किएपछि उनको भगौडा खाली गरियो।
निमाले आफ्नो श्रीमान् अर्जुन बेपत्ता हुनु शंकास्पद रहेको बताइन्। ‘असोज ३ गते बिहान ९/१० बजेसम्म फोनमा कुुराकानी भएको थियो। त्यसै दिन उहाँ घर आउने तयारी थियो,’ उनले भनिन्, ‘तर ११ बजेतिर सम्पर्क गर्दा उहाँको फोन उठ्न छाड्यो। अफिसबाट बिदा मिलाइवरी घर आउने तयारीमा रहेको मान्छे अचानक सम्पर्कविहीन हुनुभयो। त्यस दिनदेखि उहाँ अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन।’
निमाले अर्जुन सम्पर्कविहीन भएको एक–दुई दिनपछि ताप्लेजुङबाट काठमाडौं आएर प्रहरी र अर्जुनले कार्य गरेको आपूर्ति तथा परिवहन गण थापाथली ब्यारेकलाई खोजीका लागि आग्रह गरे पनि उनी नभेट्टिएको बताइन्। उनले अर्जुनले काम गरेको गणमा अहिले यो विषयमा कुरा गर्दा ‘यहीँ काम गर्ने मान्छे त हो, भेट्टिइहाल्छ’ भन्नेजवाफ आउने गरेको बताइन्।
निमाले अर्जुनको खोजीका लागि आफ्नो बसोबासको वडा कार्यालयमा समेत निवेदन दिएकी थिइन्। सोपश्चात् वडा कार्यालयले परिवहन गण थापाथलीलाई खोजीका लागि आग्रह गर्दै २०७८ असोज १४ गते पत्र लेखेको थियो। उनको सेनाभित्र नै उपचार भइरहेको परिवारले जनाएको छ।
यता नेपाली सेनाले अमल्दार तामाङको खोजी र सोधखोज जारी रहेको जनाएको छ। सेनाले आफ्ना सबै इकाइमार्फत तामाङको खोजी भइरहेको जनाएको हो ।
सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले तामाङको खोजी भइरहेको र उनका विषयमा कुनै जानकारी र सूचना हालसम्म प्राप्त नभएको बताए। ‘उनी क्रोनिक प्रोस्टेटका बिरामी थिए र यही विषयलाई लिएर चिन्तित रहेको गणबाट बुझिएको छ,’ प्रवक्ता सिलवालले पर्दाफाससँग भने, ‘परिवारका सदस्य हाम्रो सम्पर्कमा हुनुहुन्छ, हामी अझै खोजी गरिरहेका छौं।’
कहिले सम्म खोजि गर्छ यो नेपाली सेनाका भतुवाहरुले, एउटा देश रक्षक राष्ट्र सेवक नेपाली सेना वर्षौ दिनसम्म पनि वेपत्ता हुनको कारण के हो ??????????????