दलहरूले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची, कुन दलबाट को–को परे?

सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका प्रमुख राजनीतिक दलहरूले सोमबार आसन्न आमनिर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।

कुन दलबाट को–को परे समानुपातिकमा?

नेपाली कांग्रेस
नेपाली कांग्रेसले चार दिन छलफल गरेर समानुपातिकतर्फ उम्मेदवार तय गर्दै निर्वाचन आयोगमा सूची बुझाएको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवासहित अधिकांश पदाधिकारी प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा समानुपातिकमा बस्न मानेनन्। कांग्रेसका १३ पदाधिकारीमा २ जना मात्रै समानुपातिकमा बसेका छन्।

सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार समानुपातिकतर्फ बसेको कांग्रेसका एक पदाधिकारीले बताए।

मन्सुर बारा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए भने परियार कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए।

यस्तै पूर्वउपसभापति विमलेन्द्र निधि पनि समानुपातिकतर्फ नाम समावेश गरिएको छ। निधि २०७४ मा धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतोसँग पराजित भएका थिए। यसपालि निधिलाई धनुषा कांग्रेसले समानुपातिकतर्फ नै सिफारिस गरेको थियो।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई चुनावी क्षेत्र छाड्न पर्ने हुन सक्ने बताइरहेका थिए।

नेता गोपालमान श्रेष्ठको नाम पनि समानुपातिकतर्फ बन्दसूचीमा समावेश रहेको ती नेता बताउँछन्।

केन्द्रीय सदस्य आरजु राणा देउवा पनि समानुपातिकतर्फ बसेकी छन्।

आरजु कैलाली क्षेत्र नम्बर ५, बाँके क्षेत्र नम्बर ३, बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ र डडेल्धुराबाट समानुपातिकतर्फ सिफारिस भएकी थिइन्। २०७४ मा आरजु कैलालीबाट पराजित भएकी थिइन्।

कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फ आज उम्मेदवारको सूची आयोगमा पेस गरेको हो।

सूची पेस गर्न महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, महालक्ष्मी उपाध्याय डिना, बद्री पाण्डेलगायत नेता आयोगमा पुगेका थिए। कांग्रेसले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम आयोगमा बुझाएको छ।

नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवारको सूची पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नामसमेत समावेश भएको छ।
महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको माओावदीका एक पदाधिकारीले बताए ।

नेकपा एकीकृत समाजवादी
समानुपातिकतर्फ बसे एकीकृत समाजवादीका उपाध्यक्ष हमाल र उपमहासचिव तुलाधार
नेकपा एकीकृत समाजवादीको समानुपातिकको बन्दसूचीमा उपाध्यक्ष प्रमेश हमाल र उपमहासचिव गंगालाल तुलाधार समावेश भएका छन्।

निर्वाचन आयोगमा सूची पेश गर्न पुगेका तुलाधारले आज उपाध्यक्ष राजेन्द्र पाण्डेलाई निर्वाचन क्षेत्र छोड्नका लागि आफू समानुपातिकतर्फ आएको बताए।

तुलाधर, जनजातीतर्फको कलस्टरमा पहिलो नम्बरमा र हमाल खस आर्यतर्फ पहिलो नम्बरमा सिफारिस भएका छन्।

बागमतीका मुख्यमन्त्रीसमेत रहेका समाजवादीका उपाध्यक्ष पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष लड्ने तयारीमा छन्।

नेकपा एमाले
नेकपा एमालेले पनि सोमबारै समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। एमालेको केन्द्रीय पदाधिकारी तथा समानुपातिक सूचीबाट यसअघि सांसद भइसकेका नेताबाहेकका नेताहरूलाई समानुपातिक उम्मेदवार बनाएको छ।

जसमा स्थायी कमिटी सदस्य रघुजी पन्त, गोरखबहादुर बोगटी, लिलबहादुर थापा, ईश्वरी रिजाल विश्वकर्मासहितका नेताहरू समानुपातिकको बन्द सूचीमा परेका छन्।

महिलातर्फ नैनकला थापा, उमा कोइराला, सुनिता बराल, क्रान्ति बुर्लाकोटी, भक्तकुमारी लामा, मेनुका पछाईसहितका नेतृहरू रहेको एक सदस्यले बताए । समानुपातिकको सूचीमा पर्ने नेता रघुजी पन्त यसअघि ललितपुर ३ बाट निर्वाचित सांसद हुन् भने बोगटी कर्णाली प्रदेश कमिटीको पूर्वअध्यक्ष एवं पार्टीको पोलिटब्यूरो सदस्य हुन्।

त्यस्तै बाग्लुङका थापा माओवादी केन्द्रबाट आएका नेता हुन् । रिजाल एमाले केन्द्रीय कार्यालयका पूर्वसचिव हुन् । नैनकला थापा पूर्वसञ्चारमन्त्री हुन् । उनी उपाध्यक्ष रामबहादुर थापाको पत्नी पनि हुन् । यस्तै सिन्धुलीकी कोइराला केन्द्रीय सदस्य हुन् भने सुनिता र मेनुका विद्यार्थी नेतृ हुन् ।

नेकपा एमालेले सोमबार आयोगको कार्यालयमा उनीहरूसहित ११० जनाको समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको हो। आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनका लागि दलहरूलाई आइतबार र सोमबार दुई दिनको अवधि दिएको थियो। यस्तै बुर्लाकोटी युवासंघको नेतृ हुन् भने लामा पूर्वविद्यार्थी नेतृ हुन्।

लाेसपा

लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाएको छ।

अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायत प्रत्यक्ष चुनाव लड्ने गरी अन्य नेताहरू समावेश रहेको समानुपातिक उम्मेदवार सूची लोसपाले बुझाएको छ।

पार्टीका नेता केशव झाले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ करिब २०० उम्मेदवारको सूची बुझाइएको बताए।

प्रदेश सभातर्फ समानुपातिकमा सबै प्रदेशका लागि बन्दसूची बुझाइएको उनले बताए।

विवेकशील साझा
विवेकशील साझा पार्टीले निरुपमा यादवलाई पहिलो नम्बरमा राखेर प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारहरूको सूची बुझाएको छ।

पार्टीले सोमबार बुझाएको सूचीको पहिलो नम्बरमा यादव, दोस्रो नम्बरमा निर्जला कक्षपति, तेस्रो नम्बरमा सरस्वती पन्थी भुसाल, चौथो नम्बरमा राम साह छन्। त्यसपछि क्रमशः लक्ष्मी घिमिरे, दीपक रेग्मी, सुरज प्रधानको नाम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर