सर्वोच्चमा चाेलेन्द्रकाे पक्षमा प्रदर्शन हुने सूचनापछि सुरक्षा व्यवस्था कडा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचनापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार केही समूहले जबराको पक्षमा प्रदर्शन गर्ने सूचनापछि सुरक्षाकर्मी तैनाथ गरिएको हो। सर्वोच्च अदालतको मूल गेटमा बाक्लो संख्यामा सुरक्षा उपस्थिति रहेको छ ।

जबराले आफूविरुद्धको महाभियोग संसद्को कार्यकाल सकिएसँगै निस्तेज भएको दाबी गर्दै पूर्ववत जिम्मेवारीमा फर्किने कोसिस गरिरहेका छन् ।

आइतबार उनले आफू सर्वोच्च आएर जिम्मेवारी सम्हाल्ने बताएका थिए । तर, सरकारले नै हस्तक्षेप गरेर आफ्नो निवास गेटमा ताला लगाई सुरक्षाकर्मी खटाएर आफूलाई अदालत जान नदिएको उनले बताएका थिए ।

कानून व्यवसायीले जबराविरुद्धको निलम्बन फुकुवा नभएको भन्दै उनी जिम्मेवारीमा रहन नमिल्ने बताउँदै आएका छन् । आइतबार उनीहरूले जबरालाई सर्वोच्चको मूल गेटमै रोक्ने तयारी गरेका थिए ।

कानूनमन्त्री गोविन्दप्रसाद बन्दीले जबराले कार्यभार सम्हाल्नका लागि निलम्बन फुकुवा भएको र महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र ल्याउनुपर्ने बताउँदै आएका छन् । संसद् सचिवालयले जबरालाई निलम्बन फुकुवाको पत्र दिन नमिल्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर