किन पटकपटक फोरिन्छन् पोखराका एटीएम मेशिन ?

विरलै घट्ने घटना नौलो लागे पनि त्यही घटना बारम्बार घटिरह्यो भने स्वाभाविक लाग्न थाल्छ। यसैको नमुना हो– पोखराको एटीएम प्रकरण।

पोखरामा पछिल्लो समय एटीएम मेशिन फुटाएर पैसा चोरीका घटना अस्वाभाविक रूपमा बढेका छन्। जसका कारण यो विषय आम मानिसको नजरमा स्वाभाविक जस्तै बनिसकेको छ।

सोमबार मात्रै एटीएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एनएमबी बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

एक जना पुरुषले एटीएम फुटाइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटीएम फुटाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका उनको साथबाट प्रहरीले एटीएम फुटाउन प्रयोग गरेको एक थान खुकुरी बरामद गरेको छ।

यसअघि पछिल्लोपटक गत साउन २१ गते पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको एनआईसी एशिया बैंकको एटीएम फुटाएर पैसा चोर्न खोजेको आरोपमा पर्वतको कुश्मा नगरपालिका वडा नं.३ बस्ने २३ वर्षीय कृष्णबहादुर विक पक्राउ परेका थिए।
उनी पनि एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए। प्रहरी अभिलेखबाट उनी यसअघि माछापुच्छ्रे बैंकको एटीएमबाट पैसा चोरेको आरोपमा कास्की जिल्ला अदालतबाट तोकिएको कैद भुक्तानी गरी छुटेकोसमेत देखिएको छ।

त्यस्तै गत साउन ५ गते पोखरा महानगरपालिका–२६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको थियो। चोरी गर्ने व्यक्तिलाई प्रहरीले एक महिनापछि पक्राउ गरेर भदौ ५ गते सार्वजनिक गरेको थियो।

उनी थिए– नवलपुर देवचुली ५ घर भएका ‘भेडे’ भन्ने अनिश तामाङ, जो कक्षा ९ मा पढ्दै गरेका हार्डवेयर पसलमा काम गर्ने युवक रहेको खुलेको छ। प्रहरी अनुसन्धानले उनले युट्युबबाटै एटीएम मेसिनबारे जानकारी संकलन गरेर चोर्ने कार्यमा अग्रसर भएको देखाएको छ।

यस्तै गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआईसी एशिया बैंकको एटीएम मेशिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो ।

यसरी पोखराका विभिन्न स्थानमा तीन महिनाभित्रै चार जना एटीएम मेशिन फुटाएर पैसा चोरी गरेको/गर्न खोजेको आरोपमा पक्राउ परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *