खोटाङका दुई निर्वाचितसहित मेयर र उपमेयरका १५ उम्मेदवारलाई जनही साढे चार लाख जरिवाना

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा नबुझाउने खोटाङका दुई स्थानीय तहका मेयर र उपमेयरका १५ उम्मेदवार कारबाहीमा परेका छन् ।

पटकपटक ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका पाँच र हलेसी तुवाचुङ नगरपालिकाका १० जना उम्मेदवारलाई साढे चार लाख रुपैयाँका दरले जरिवाना तिर्न निर्देशन दिएको हो ।

जसमा दिक्तेल रुपाकोट मझुवागढीमा राप्रपाबाट मेयरमा लडेकी चन्द्रकुमारी राई, एमालेका कुमारप्रसाद आचार्य, राप्रपाका जीवनकुमार श्रेष्ठ, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राई र एमालेबाट उपमेयरमा उठेकी वीणादेवी राई रहेका छन् ।

हलेसी तुवाचुङमा कांग्रेसबाट मेयरमा उठेकी विमला राई (निर्वाचित), एमालेका खडेन्द्र राई, जसपाका अञ्जिल राई, माओवादी केन्द्रकी रुसिका राई, मंगोल नेशनल अर्गनाइजेसनका विनेश राई, राप्रपाका छत्र पुरी र खम्बूवान राष्ट्रिय मोर्चाका तुलसीकुमार राईलाई आयोगले उक्त जरिवाना तोकेको हो ।

आयोगले सोही पालिकाका कांग्रेसबाट उपमेयर लडेका रमेशकुमार राउत (निर्वाचित), माओवादी केन्द्रका अमेम्बर राई र एमालेका तुलसा बुढाथोकीलाई पनि साढे चार लाखका दरले जरिवाना तिर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर