पर्वतीय मुद्दालाई विश्वव्यापीकरण गर्न नेपालको अग्रणी भूमिका हुनुपर्छ : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्वतीय मुद्दालाई विश्वव्यापीकरण गर्ने अभियानमा नेपालको अग्रणी भूमिका हुनुपर्ने बताएका छन् ।  वन तथा वातावरण मन्त्रालयको आयोजनमा मंगलबारदेखि सुरु भएकोे अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङपैरवी सम्मेलनमा मन्त्री यादवले अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ नेपालका लागि एउटा महत्त्वपूर्ण अवसर भएकाले यो मुद्दालाई विश्वव्यापी बनाउने अभियानमा नेपाल लाग्नुपर्ने बताए ।

उनलेभ भने, “हामी विश्वको सबैभन्दा अग्लो र लामो पर्वत शृङ्खलाका रुपमा रहेको हिन्दू कुश हिमालय क्षेत्रका बासिन्दा हौँ, पर्वतीय विषयमा हाम्रो सबैभन्दा बढी चासो हुनु स्वभाविक हुन्छ, यो अन्तर्राष्ट्रिय वर्ष मनाउन शुभारम्भ गर्ने नेपाल पहिलो मुलुक पनि हो त्यसैले पर्वतीय मुद्दालाई विश्वव्यापीकरण गर्ने अभियानमा नेपालको भूमिका प्रभावकारी हुनुपर्छ ।” अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालले आगामी दिनमा पर्वतीय मुद्दालाई जोडदार रूपमा उठाउने र अन्य पर्वतीय मुलुकसँग सहकार्य र समन्वय गर्ने योजना रहेकोसमेत मन्त्री यादवले सो कार्यक्रममा जानकारी गराए ।

यसैगरी मन्त्री यादवले अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहका माध्यमबाट नेपालको पर्वतीय मुद्दा अझ प्रष्ट भई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरे । यो वर्ष खासगरी पर्वतीय जलवायु परिर्वतन, पर्वतीय अर्थतन्त्र, पर्वतीय संस्कृति, पर्वतीय जैविक विविधता, पर्वतीय महिला र पर्वत–समथर अन्तरसम्बन्धलाई छलफलमा ल्याइने उनले उल्लेख गरे ।

मन्त्री यादवले नेपालजस्तो पर्वतीय मुलुकका लागि यो छलफल निकै महत्वपूर्ण रहेकोमा जोड दिए । उनले भने, “नेपालजस्तो पर्वतीय मुलुकका लागि यो छलफल निकै महत्वपूर्ण छ, यस छलफलले हिन्दू कुश हिमालय क्षेत्र र विश्व समुदायका बीचमा महत्वपूर्ण ध्यानाकर्षण भएको महसुस गरिएको छ ।”

यस मुस्ताङपैरवी अभियानमा विश्व खाद्य सङ्गठन, इसिमोड, युकेएड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिसिए नेपाल र माउन्टेन पार्टनरसीपको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर